श्रीशीशा राई
दयाहाङका चलचित्रहरु सकेसम्म छुटाउन मन लाग्दैन । हलमा मौका नमिले पनि युट्युवमा खोजिन्छ । दयालाई पर्दामा हेर्दा कता कता आफै जस्तो लाग्छ । उनको पछिल्लो चलचित्र ‘मनसरा’ इटहरीको इलाइट सिनेमामा हेर्ने मौका मिल्यो । यस फिल्ममा खास के रहेछ भन्ने उत्सुकता थियो । फिल्म हेरिसकेपछि मनमा लागेका कुराहरु एउटा दर्शकको प्रतिक्रियाको रुपमा प्याच्च भनिहाल्न मन लागेकोले यो लेखिएको हो । सिनेमाको औपचारिक प्राविधिक ज्ञान नभएकोले यसलाई समीक्षा नभन्नु ठिक होला ।
दयाको स्टारडम छायाँमा
मनसरा दयाहाङ राईको फिल्म भनेर प्रचार तिव्र छ । म पनि दयाको मुख्य रोल भनेरै हेर्ने गएको हुँ । अहिले दयाको व्यस्तता र क्रेज हेर्दा त्यस्तै पनि लाग्छ तर मनसरामा दया मुख्य कलाकार होइन रहेछ । दयालाई सानो, सहायक जस्तो रोल दिइएको रहेछ । सङ्घर्षको चरणमा रहेको कुनै कलाकारको जस्तै झालाकझुलुक देखिने पाराको रोल रहेछ । भन्नेहरुले दयाको रोललाई थोरै तर छोइने खालको भन्लान् । त्यो उनीहरुको मार्केटिङ स्टेटमेन्ट हुनसक्छ तर यथार्थमा उपस्थिती जनाउने टाइपको मात्र रोल दिइएको रहेछ । यो दयाको क्षमता र दर्शकहरुको अपेक्षा विपरित हो । यसले दयाको स्टारडम छायाँमा पारिएको महशुस भयो । फिल्म समग्रमा नराम्रो त छैन तर अपेक्षा अनुरुप दयाको भूमिका हेर्न नपाएपछि हलबाट निराश भएर फर्कनुपरेको थियो ।
दया र प्रविण दुवैलाई अन्याय
यस फिल्मभरि प्रविण सापकोटा छाएका छन् । उनको भूमिका अब्बल पनि छ । प्रविणले यस फिल्ममा आफ्नो अभिनय क्षमता खुलेर प्रदर्शन गर्न पाएकाछन् । साँच्चै प्रविण एक प्रतिभाशाली अभिनेता रहेछन् । यस हिसाबले फिल्मको नायक त प्रविण रहेछन् । त्यसैले मनसरालाई प्रविणको फिल्म भनिनुपथ्र्यो, प्रचार गरिनुपथ्र्यो तर सबैतिर दयाको फिल्म भनेर दयालाई नै अघि सारिएको छ । जसले गर्दा प्रविण सापकोटालाई देखादेखि अन्याय भइरहेको छ । प्रविणले आफ्नो काम र क्षमता अनुसारको जस पाइरहेका छैनन् ।
दयाले फिल्म भरिमा करिब एक चौथाई दृश्यमा मात्र आफुलाई देखाउन पाएकाछन् । यो दयासँग दर्शकको अपेक्षा, माया र उनको क्षमताको कसीमा दयालाई अन्याय हो । दयालाई यो रोल किन दिइयो अथवा दया आफैले यो रोल किन गरे भन्ने प्रश्न जिवितै छ, रहनेछ । दयालाई प्रयोग त सबैले गर्न खोज्छन् तर सफलताको यो चुलिमा उक्लिसक्दा दयाले पक्कै पनि विचार गरेर फिल्म लिनुपर्छ भन्ने लाग्छ । यसमा सबैले अझ दया आफैले आफुलाई हल्का रुपमा लिएको हो कि जस्तो लाग्छ ।
यसअघि हेर्ने मौका मिलेको फिल्म ‘दिमाग खराब’ मा पनि दयाको यही हविगत थियो । फिल्म भरि खगेन्द्र लामिछाने हावी हुँदा दयालाई सहायक रोलमा सिमित गरिएको छ । तर त्यो फिल्मको क्लाइमेक्सले दयाको स्टारडम कायम राखेकोले हल छोड्दा राम्रै लागेको थियो । तर ‘मनसरा’ मा त त्यो पनि भेटिएन ।
दया ः राजेश हमाल र भुवक केसीकै बाटोमा
कुनै बेला भुवन केसीको मादक मुस्कान हेर्नकै लागि युवतीहरु फिल्म हलमा झुम्मिन्थे । राजेश हमालको ‘हे.....’ आवाज सुन्दा घडी पनि टक्क रोकिएको जस्तो भान हुन्थ्यो । केही अघिसम्म यी हिरोहरुलाई निर्माताहरुले फिल्म सुपरफ्लप भएपनि लगानीसम्म उठाउनकै लागि एउटा गीतमा भएपनि नचाउने, अतिथि वा विशेष भुमिका दिने तर पोष्टरमा भने ढ्याम्म नायकत्व देखाउने, हल्लामा नायकत्व उराल्ने अथवा नाम, अनुहार वा टाउको बेच्ने गर्दै आए । उमेर र समयले यी दुवैको सुपरस्टारडम आउटडेटेड हुँदै गयो । हिरो भन्दा अन्य रोलमा उनीहरुलाई दर्शकले रुचाएनन् अथवा उनीहरुले नै अन्य रोलमा आफुलाई प्रस्तुत गर्ने आँट गरेनन् । निर्माता निर्देशकहरुले पनि उनीहरुको भुमिकालाई नजरअन्दाज गर्दै सिमित बनाउँदै गए । आफ्नो पिँढीमा कुनैबेला सिँगै नेपाली फिल्म धानेका यी हिरोहरु अहिले पलायन सो सरह भएकाछन् ।
दिमाग खराब, मनसरा जस्ता फिल्महरु हेर्दा दयाको पनि यही अवस्था शुरु भएको हो कि भन्ने महशुस गर्न सकिन्छ । यसरी नै टापटिपे भुमिकामा सिमित हुँदै जाने हो भने दयाले कि त भुवन जस्तै कलाकारिता राजनितिको आड लिनुपर्छ कि राजेश जस्तै अनलाइन टिभीको भर पर्नुपर्छ । त्यसो त दयाका लागि त आफ्नै थातथलो थियटर छदैछ । तर यो अवस्था नेपाली फिल्मका लागि दुर्भाग्यपुर्ण अवश्य हुनेछ । दर्शकको माया र क्षमता हुँदा पनि दया यसरी हेर्दाहेर्दै ओझेलमा पर्नु भनेको अधोगति हो । दयालाई नेपाली दर्शकले ‘फुल प्याकेज’ नायककै रुपमा हेर्न चाहेकाछन् ।
सिनेमाको चरम व्यापारिक चङ्गुलमा दया ?
दयालाई नेपाली दर्शकले आफ्नै चुल्होचौकाको नायक मानेकाले नै उनको माग बढेको हो तर सफलताको चरम चुलि पार गर्दै गर्दा अन्य सुपरस्टार झैँ के दया पनि सिनेमाका धुरन्धर व्यापारीहरुको शो पिस बन्न थालेका हुन् ? निर्मातालाई नाफा नभएपनि घाटा नपार्न व्यापारिक प्रयोजनका लागि प्रयोगको वस्तु बन्दै गएका हुन् ? उनलाई फिल्ममा हावी गराउँदा उनलाई भुक्तान गर्न नसक्ने तर उनको नाम, अनुहार वा टाउको पनि नभइ नहुने यसका लागि भुक्तानी पनि धेरै गर्न नपर्ने अवस्था बन्दा के दया दर्शक समाजबाट पलायन हुँदैनन् र ? हाम्रो त शुभेच्छा मात्र हो । यसमा त खासगरी दया आफैले विचार पु¥याउनुपर्छ । अनि जो जो सिनेमाका जिम्मेवार हुन् उनीहरुले पनि कुनैपनि कलाकारबाट कलाकारिताको दीर्घकालिन साधना पाउने वातावरण कायम गर्नुपर्छ ।
दयाहाङ राई ः नेपाली चलचित्रका ‘युगनायक’
अग्रज कलाकार शशी थापा सुब्बा (नायिका मिरुना मगरकी आमा)ले एक अन्तरवार्तामा भन्नुभएको छ– ‘दयाहाङ राई युगनायक हुन् ।’ अन्तरवार्तामा यस सम्बन्धमा उहाँको तर्क त सुन्न पाइएन तर यसमा म पनि सहमत छु । र यसमा मेरा आफ्ना तर्क छन्–
यसमा दुईवटा कुरा छन् । पहिलो– दयाहाङ राई जस्तो अनुहार, मोहडा, बान्की र समुदाय (समुदाय भन्नुवित्तिकै संस्कृतिको कुरा पनि आउँछ) को हिरो नेपाली फिल्ममा न पहिला थियो न पछि हुनेछ । हामी त हिप्पी कपाल, खाइलाग्दो जिउडाल, कुँदिएको जस्तो अनुहार भएका भुवन केसी, राजेश हमालहरुले निर्माण गरेको हिरोइज्मको संस्कारभित्र डुबेका दर्शक हौँ । ‘दयाहाङ राई पनि हिरो हो र ?’ भन्ने मानसिकतामा रहनु स्वाभाविकै हो । तर वास्तविकता के हो भने दयाको इन्ट्री पछि नेपाली फिल्ममा हिरोको भाष्य नै परिवर्तन भएको छ । भुवन र राजेश मात्र होइन, दया (र दयाजस्ता) पनि हिरो हुनसक्छन् र सिँगै नेपाली फिल्म धान्न सक्छन् भन्ने संस्कार स्थापित हुँदै गएको छ । फिल्मको कन्सेप्टमै फेरबदल भएको छ । डोकोमा बालुवा र आँखाभरि युके आर्मीको सपना बोकेर हाफपाइन्ट र भेष्टमा उकालो दौडिने युवाको औसत जिउडाल भएका दयाहाङ राई हिरोका रुपमा जम्दा समग्र नेपाली दर्शकहरुले आफुलाई पनि कमजोर सोँच्न छाड्दै गएकाछन् । उनलाई पर्दामा हेरिरहँदा र डाइलगहरु मनन गरिरहँदा समग्र नेपालीहरुले आफु नै अथवा आफ्नै ठानेका छन् । यस अर्थमा उनी नेपाली समाजमा भिज्न सहज भएका र भिजिसकेका नायक हुन् ।
दोस्रो– भाग्यले भनौँ दयालाई यस्तो आशिर्वाद दिएको छ कि उनी फिल्मको कुनैपनि रोलमा फिट हुन सक्छन् । समय र उमेरले फिल्ममा उनको उपस्थिती र आवश्यकतालाई कहिल्यै अवरोध गर्दैन । उनीसँग अहिले उमेर छ, सुन्दरीको अघि पछि नाच्न गाउन सक्छन् । उमेर ढल्किदै जाओस् तर उनको शारिरिक मोहडा, अनुहार र क्षमताले समाज र परिवारको कुनैपनि चरित्र निभाउन रोक्दैन । सबै भुमिकामा उनी सहज, उपयुक्त र स्विकार्य नै हुन्छन् । त्यसैले दर्शकहरुले उनलाई उनी बाँचुन्जेल खोज्छन् । स्विकार गर्छन् । अथवा उनी युगीन नायक हुन् । त्यसैले उनी युगनायक हुन् ।
दयाको सम्भावना नेपाली फिल्ममा स्पष्टतः दीर्घकालसम्मका लागि हो । उनको आवश्यकता र उपस्थिती उनी शारिरिक र मानसिक रुपमा क्रियाशिल हुन सकुन्जेलसम्मका लागि पक्का हो । यो नेपाली फिल्मका लागि नै अहोभाग्यको कुरा हो । तर दिमाग खराब, मनसरा आदी फिल्महरुमा जस्तै उनको भुमिका र क्षमतालाई नजरअन्दाज गरेर सहायक वा कनिष्ठ रोल दिँदै जाने हो भने नेपाली फिल्मले एक युगीन कलाकारलाई गुमाउँदै जानेछ । एक क्षमतावान कलाकारको भरपुर सेवा र योगदान पाउनबाट नेपाली फिल्म क्षेत्र चुक्दै जानेछ ।
‘मनसरा’ बारे बाँकी कुरा
नेपाली फिल्म क्षेत्रमा धेरै नै अब्बल सम्भावना बोकेर उदाएकी छिन् मिरुना मगर । मनसरामा उनको अभिनय अत्यन्तै स्वाभाविक, प्रभावकारी र स्विकार्य छ । उनी एक प्रतिभाशाली अभिनेत्री हुन् । नेपाली फिल्मलाई उनको अनिवार्य खाँचो छ भन्ने यस फिल्मबाट मिरुनाले सावित गरेकी छिन् ।
केही प्रश्न लायक सन्दर्भ र दृश्यहरु पनि छन फिल्ममा–
प्रविण बाहुनका छोरा हुन् । जनै धारण गरेकाछन् । कथानक अघि बढ्दै जाँदा उनले तिनपाने रक्सी खान्छन्, लगत्तै उल्टी गर्छन् । बङ्गुरको मासु खान्छन्, आँशु र पसिनासरी हुन्छन् । यसबाट के सन्देश दिन खोजिएको हो ? बाहुनले रक्सी र बङ्गुरको मासु खानुहुँदैन, खाँदैनन् भन्ने हो भने अहिले त्यो चलन वा नियम तोडिएको थुप्रै भईसक्यो । पहिला त्यो चलन थियो भनौँ भने प्रविण र मिरुना त समसामयिक पात्र हुन् । तिनपाने रक्सी खानु र बङ्गुरको मासु खानु हुँदैन, यसले उल्टी हुन्छ, विगार गर्छ भनौँ भने त झन् कन्ट्रोभर्सी हुन्छ किनभने आदीवासी जनजातिहरुले त तिनपाने रक्सीलाई अमृत वा औषधि मान्छन् । पुजा, विहे जस्ता महत्वपुर्ण कार्यमा यो नभई हुँदैन । बच्चा जन्मदा, बेहुली भित्र्याउँदा वा अन्माउदा मात्र नभई मर्दा समेत रक्सी नभई हुँदैन । बङ्गुरको मासुको महत्व पनि यो भन्दा कम छैन । यो सन्दर्भ र दृश्यहरुमा सामाजिक सद्भावलाई ख्याल गरिएको छैन कि भन्ने देखिन्छ ।
फिल्ममा मानङ (दयाहाङ राई) फररररर.....मुन्धुम व्याख्या गर्छन् । उनको व्याख्या सुन्दा उनी कुनै विज्ञ, अनुसन्धानकर्ता, शोधकर्ता वा विद्धान जस्तो लाग्छ । तर फिल्ममा थाहा भएको उनी जम्माजम्मी जागीरका लागि शहर भासिएको युवक हो । मानङको खास परिचय के हो ? उनको पात्रता के हो ? विना पचियको पात्र हुन् दया मनसरामा । अथवा उनलाई टापटिपे रोलमा सिमित गरिएको छ ।
मानङको बच्चा मनरानी (मिरुना मगर) को पेटमा आएपछि शहर भासिएको मानङ फर्केर आउँदैनन् । मनरानी मानङको खोजी गर्दै काठमाण्डौ भासिन्छिन् । ८, ९ वर्ष भईसक्यो उनीहरुले एक अर्कालाई खोजी नै रहेकाछन् । तर यस्तो के कारण पर्यो जसले गर्दा मानङ गाउँ फर्केर आएनन् ? मानङ र मनरानीको मिलन हुन नसक्नुको कारण के थियो ? यसको उत्तर फिल्ममा भेटिएन ।
मानङ र मनरानीको भेट पक्कै हुनेछ र यो निकै नै सम्झनलायक दृश्य हुनेछ भन्ने आशा थियो । उनीहरुको भेट पनि हुन्छ तर अपेक्षा भन्दा अत्यन्तै सामान्य ढङ्गले । यसमा कथानकलाई कच्याककुचुक मिलाएर दृश्यलाई कुरुप बनाइएको छ । यहीनेर दृश्यलाई घतलाग्दो बनाउनुपथ्र्यो तर हतारमा मानङ र मिरुनाको मिलन गराइएको छ । यो भन्दा अर्कै र धेरै अपेक्षा गरिएको थियो । फिल्मलाई सुखान्त बनाउनकै लागि अन्ततः भेटका लागि भेट मात्र देखाइएको छ । मानङ र मनरानीको भेट छिटो भईदिए हुन्थ्यो भन्ने चाहना राखेका दर्शकले खुलेर तालि बजाउन पनि सकेनन् । दर्शकको मनोविज्ञान र कला पक्षमा ध्यान नपुग्दा क्लाइमेक्स ‘टचि’ भएन ।
२०८१ बैशाख २६
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic