छाल खवर
धरान,२६ कार्तिक ःपछिल्लो समय हिन्दु धर्म कै आडमा धन थुपार्नेदेखि यौन शोषण लगायत अपराधका घटनामा अभियान्ता र धर्मगुरुहरु संलग्न हुन थालेका छन् ।
हिन्दु धर्मका आडमा अपराध कर्ममा लागेका केही अभियान्ता र धर्मगुरुहरुको वास्तविकता उल्लेख गरिएको छ ।
घटना १
हिन्दु युवा संघका अध्यक्ष एवं हिन्दु अभियान्ता बताउने सागर थापालाई भक्तपुर बस्ने एक युवतीलाई यौन शोषण गरेको र बिदेश पठाई दिन्छु भनेर लाखौं रुपैयाँ ठगेको बुधबार २८ असोज सामाजिक संजाल मार्फत भिडियो सार्बजनिक भएको छ ।
एक युटुब च्यानल मार्फत उक्त युवतीले आफूलाई आफूलाई युरोप पठाई दिन्छु भनेर पटक( पटक मोटो रकम लगेको र आफूलाई योन हिंसा गरेको बताएकी छिन ।
“म एनआरएन हुँ । म तिमीलाई राम्रो युरोप देशमा पठाई दिन्छु भनेर मेरो ५र६ लाख रुपैयाँ लग्यो । त्यसपछि मलाई ललितपुरको एउटा गेस्टहाउस लगेर जबर्जस्ती गर्नु खोज्यो । म एक घण्टा रोए । म जस्तो धेरैलाई फसाएको छ । त्यसलाई कडा भन्दा कडा कार्वाही होस् ।” रुदै युवतीले भनेकी छिन ।
घटना २ः
आफूलाई सक्रिय हिन्दु अभियान्ता बताउने युट्युबर एवं विश्व हिन्दु महासंघका सचिब अर्जुन शिवाकोटीलाई बलात्कारको अभियोगमा २०७७ श्रावणमा डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको छ ।बानियाँटारकी १२ र १४ वर्षीया बालिकाहरुलाई निरन्तर ३र४ बर्ष देखि बलात्कार गरेको अभियोगमा जिल्ला अदालतले शिवाकोटीलाई थुनामा पठाउन आदेश दिएको हो। प्रहरीका अनुसार शिवोकाटीविरुद्ध पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको उजुरी परेको थियो ।
घटना ३ः
सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्णदास भनिने कृष्णबहादुर गिरी सुनसरी बराहस्थित हनुमान मन्दिरका पुजारी १६ मंसिर २०७६ मा आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा अस्पतालबाटै पक्राउ परेर धरौटीमा छुटेका थिए ।तर, माघ ९ गते उच्च अदालत विराटनगरले उनलाई पुनः पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । हाल ऊनी कारागारमा छन् ।
घटना ४
हिन्दु धर्मको आडमा अपराध गरेको आरोपमा अर्का ‘बाबा’ पनि गिरी सँगसँगै फरार छन् । २०७६ माघ दोस्रो साता गुल्मी जिल्ला घर भएर बाबा बनेका विजय भण्डारीले ‘अमेरिका पठाइदिन्छु’ भनेर ठगी गरेको आरोपमा निवेदन परेपछि पक्राउ पूर्जी जारी भएको छ ।उनले २५ करोडभन्दा बढी रकम संकलन गर्ने योजना बनाएर चितवनमा कोटी होम चलाइरहेका थिए । तर ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएसँगै अहिले ऊनी फरार छन् ।विजयले पीडितलाई दिएको १२ लाखको चेक बाउन्स भएको छ । उनी यसअघि पनि ठगी आरोपमा जेल परेका थिए । ०७१ पछि १८ महिना र ०७६ मा १९ दिन जेल बसेर निस्केपछि उनले नाम परिवर्तन गरेर धार्मिक प्रवचन दिन थालेको प्रहरीले जनाएको छ ।
आफूलाई बालयोगेश्वर महाराज बताउने गेरुवस्त्रधारी–विजय भण्डारी । कान्तिपुरका अनुसार, कुनै बेला भण्डारी विष्णु प्रपन्नाचार्यजी महाराजको नाम दिएर ठगी धन्दामा सक्रिय थिए ।
उनले ०६८ मा नेपालका चचिर्त गुरु भन्दै बनारस पुगेर आफूले अमेरिकामा हुने वल्र्ड गीता म्याराथन, श्रीमद्भागवत, श्रीराम चरितमानस, गीता प्रवचन गर्न लैजान लागेको भन्दै करिब १ सय जना विद्यार्थीबाट जनही १ लाख रुपैयाँ उठाएर ठगी गरेका थिए ।
घटना ५
शिवानन्द बाबा भनिने दिपक भण्डारी २८ पुस २०७६ मा युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ परे । महानगरीय अपराध महाशाखा अनुसार, उनले ४ जनालाई युरोप लगिदिन्छु भन्दै ३० लाख रुपैयाँ ठगी गरेका थिए ।
प्रहरीका अनुसार, स्थायी घर गुल्मी भएका भण्डारीले युरोपका विभिन्न ठाउँका तस्वीर देखाउँदै युरोप पठाइदिन्छु भनेर ठगी गरेका थिए ।
घटना ६
साधु बाबाको भेषमा बस्दै आएका रामेश्वर भनिने हरिनारायण शर्मा २० माघ २०७६ बाराको रमपुर्वा गाउँमा करिब पाँच वर्षदेखि जबर्जस्ती करणी अभियोगमा पक्राउ परे ।
भारतको राजस्थान बुन्दी जिल्ला, थाना पाटन, सिन्ता ग्राम पञ्चायत बस्ने वर्ष ५३ का रामेश्वर भनिने हरिनारायण शर्मा १३ वर्षीया एक किशोरीलाई करणी गरेको अरोपमा पक्राउ गरिएको थियो ।
घटना ७ ः
२०७५ चैत २५ मा मोरङको रामजानकी मन्दिरमा ‘बाल सन्त स्वामी श्रीनिवासाचार्य’ माथि गोली प्रहार भएको समाचार भाइरल भयो । घटना लगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।तर, अनुसन्धानका क्रममा श्रीनिवासाचार्य आफैंले चितवन, बेलचोक घर भएका बडीगार्ड माधव चौधरीलाई आफूमाथि गोली हान्न लगाएको खुल्यो । प्रहरी अनुसन्धान अनुसार, उनले धार्मिक एजेन्डालाई उग्र बनाउन भन्दै यस्तो भ्रम सृजना गरेका थिए ।
घटना ८ ः
२०७५ जेठ ५ बर्दिबास नगरपालिका ३ भब्सीस्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका प्रमुख पूजारी बसन्त बलम्पाकी हात हतियारसहित पक्राउ परे ।भोले बाबाको भेषमा अपराधिक तथा यौनजन्य क्रियाकलाप गर्ने आरोपमा उनलाई प्रहरीले चार थान खुकुरीसहित पक्राउ गरेको थियो ।
स्थानीयका अनुसार, उनले झारफुकको लागि मन्दिर पुग्ने मानसिक रोगीलाई गाँजा खुवाउने, निगार खुवाउने, त्यसले नपुगे बेहोस् बनाएर कुटपिट गरी उपचार गर्ने गरेका थिए । यतिमात्र नभएर, झारफुकको लागि मन्दिरमा पुग्ने युवतीलाई महिना दिनसम्म राखेर यौन शोषण गर्ने गरेको स्थानीयको आरोप लगाएका थिए ।
घटना ९
२०७६ जेठ १४ मंगलबार बलात्कार आरोपमा प्रहरी कार्यालय बिर्तामोडले कन्काई नगरपालिकास्थित कोटीहोमबाट इलामको रोङ गाउँपालिका–३ का ४४ वर्षीय छत्रबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार धर्मगुरु गुरुङले आफूलाई ‘छत्रबहादुर गिरी’ भनेर ७ वर्षदेखि कोटीहोममा बस्दै आएका थिए । पहेँलो वस्त्र र लामा दाह्री पालेर साधुको भेषमा शिव मन्दिरमा बस्दै आएका उनले महिलालाई डर देखाउँदै बारम्बार बलात्कार गरेको आरोप लागेको थियो ।प्रहरीले उनलाई जबरजस्तीकरणीको मुद्दा चलाएको छ । प्रहरीका अनुसार ३१ वर्षकी महिला धर्मगुरुको शिष्य बन्नका लागि सहयोगीको रुपमा सेवा गर्दै सँगै हिँड्ने गर्थिन् ।
घटना १० ः
काठमाडौँ, २६ असोज विभिन्न स्थानमा बालतपस्विको नाममा भागवत् गर्दै हिँड्ने धादिङका एक पण्डितले एक महिलालाई लाखौँ रुपैयाँ ‘ठगी’ गरेको पाइएको छ ।धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्बर ४ ढोला स्थायी घर भएका कथित ‘उत्तम भट्टजी महाराज’ नाम गरेका उत्तम भट्टले नुवाकोट लिखु गाउँपालिका वडा नम्बर ५ घर भएकी होमकुमारी ओझालाई ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेको पीडित ओझाले बताएकी छिन् ।सामान्य परिवारकी ओझा धर्म गुरु र हिन्दु धर्मप्रति विश्वास राख्थिन् ।
उनको चाहाना थियो १०८ ठाउँमा माहायज्ञ लगाउने । सोही क्रममा उनको उत्तम भट्टसँग चिनजान भयो । धर्मगुरु भनेपछि उनले आफूलाई भन्दा बढी विश्वास गरिन् ।
सार्वजनिक स्थान र नीजि स्थानमा भागवत लगाउँदै आएको संस्था विश्व भागवत धाम नेपाल नामक संस्थामा उनी आवद्ध हुन पुगिन् । संस्थाले गरेको १५ औँ देखि ६७ औँ भागवतसम्म उनले लगानी गरिन् । संस्थाका संयोजक बताउने वासुदेव घिमिरे र पण्डित उत्तम भट्टले उनको पैसा ठगिरहे ।
‘२०७० सालमा उनले मसँग १२ लाख रुपैँया व्यक्तिगत प्रयोजनका लागि भन्दै लगे ५० लाखजति पैसा उनले सप्ताहा लगाएको ठाउँ म्यानेजमेन्टमा भन्दै ठगी गरे,’ हुम कुमारीले भनिन्,‘धर्मका नाममा ठगहरु रहेछन् । यो पोल खुल्ने डरले अहिले मदेखि टाढा हुन्छन् ।’ दियोपोस्टले लेखेको छ ।
घटना ११ ः
२०७३ चैत्र १७ ठगी मुद्दामा फरार रहेका नुवाकोट थप्रेक–९ घर भई काठमाडौँ महानगरपालिका–३४ बस्ने ३४ वर्षीय रामचन्द्र पण्डितलाई प्रहरीले पक्राउ गरेको थियो । ठगी मुद्दामा उनलाई काठमाडौँ जिल्ला अदालतको २०६७ जेठ २५ गतेको फैसलाले १ वर्ष कैद र २ लाख ५५ हजार ५ सय २५ रुपैयाँ जरिवाना ठहर गरेको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पण्डितलाई पक्राउ गरेको थियो । काठमाडौँ महानगरपालिका–३४ स्थित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहाकरी संस्थाका बजार प्रतिनिधि रहेका पण्डितले २०६५ सालको वैसाखदेखि आश्विन महिनासम्ममा संस्थाका बचतकर्ताहरुबाट संकलन गरेको २ लाख ५५ हजार ५ सय २५ रुपैयाँ संस्थामा जम्मा नगरी ठगी गरेको प्रहरीले जनाएको छ ।
घटना १२ः
शुक्रबार, असार २६ २०७७ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव भन्दै ठगि गरेको आरोपमा अर्जुन क्षेत्री पक्राउ गर्यो । आफुलाई युवा ज्योतिष दाबी गर्ने क्षेत्री सहित ९ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो ।
नेपाल बिधुत प्राधिकरणले खरिद गरेको जग्गामा उनीहरुले चार करोड मागेका थिए । उनीहरुको डिल ५० लाख रुपैयामा मिलेको थियो । सो पैसा लिन जाँदा उनीहरुपक्राउ गरिएको थियो ।
जग्गा सम्बन्धि उजुरी परेकोले मिलाउन भन्दै उनीहरुले बुढानिलकण्ठ चपलीका एक जग्गा व्यवसायीसँग पाँच करोड रुपैयाँ मागेका थिए । सरकारी जग्गामा हिनामिना गरेको भन्दै ती व्यवसायीलाई धम्काइएको थियो । अर्जुन क्षेत्री हाल थुनामा छन् ।
माथि उल्लेखित घटना त धार्मिक आवरणमा हुने गरेका अपराधका यी केही उदाहरण मात्र हुन् ।
हिन्दु धार्मिक आवरणमा हुने आपराधिक घटना दिनप्रतिदिन बढ्दै गएको सुरक्षाविदहरु ठम्याइ छ । प्रहरीका अनुसार मन्दिरका पुजारी, ज्योतिष, धार्मिक अभियान्ताहरु हत्या, बलात्कार, ठगीजस्ता अपराधमा मुछिएका छन् ।
धार्मिक अगुवालाई मानिसहरुले विश्वास गर्ने भएकाले पनि सर्वसाधारणको विश्वासलाई नै घात गर्दै धर्मगुरुहरु र अभियान्ताहरु आपराधिक गतिविधिमा सजिलै छिर्ने गरेका छन् । बिशेश गरि धार्मिक अगुवाहरुलाई छिटो विश्वास गर्ने भएकोले पनि यी आपराधिक गतिविधि बडेको हो ।
त्यसकारण आफैं सचेत हुनुपर्छ । जो भए पनि बिश्वास अन्धोभक्त भएर बिश्वास गर्नु मुर्खता हुन्छ । होशियार पूर्वक काम गरे र वास्तविक बुझेर मात्रै सम्बन्ध गाँसे अपराधीको हातवाट बच्नु सकिन्छ ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic