श्री ५ वीरेन्द्रबाट कस्तो राजनैतिक व्यवस्था देशमा चलाउने हो जनताबाटै निर्णय होस् भन्दै २०३६सालमा जनमत संग्रहको घोषणा भएको थियोे । देश निर्वाचनमय भयो। राजनीतिक कित्ता काट पनि भयो । बहुदल र निर्दलको बिचमा । निर्दल पक्षधरहरु एक ढिक्का भएर भोट माग्न जनताको बिचमा गए । भोट माग्न हिडिरहे । बहुदल पक्षधरहरु पनि बहुदलीय व्यवस्थाको पक्षमा भोट माग्न हिडिरहे । कुदिरहे । ठूलाठूला आमसभा र जुलुसहरु पनि गरिरहे ।
जतिसुकै चर्चा र पर्चा भए पनि बहुदलवादीहरु एक ढिक्का भएर उभिन सकेनन् । मतदाता र कार्यकर्ताहरुले बारम्बार कुरा उठाईरहे । एक ढिक्का हुनुपर्छ भनी माग गरिरहे तर सम्भव भइरहेको थिएन सफल भइरहेको थिएन आवाज र माग त्यसै त्यसै हावामै उडिरहेको थियो । नेताहरु आफ्नो कुरामा अडिग थिए । आफ्ना कुरामा उनीहरू टस् मस् भएनन् । परिस्थिति यसरी नै बितिहरेको थियो ।
एक दिन भाई गिरिजाप्रसाद कोईरालालाई गाडी हाँक्न लगाई विश्वेश्वर प्रसाद कोईराला गाडीको अगाडिको सिटमा बसे । नाक माथी चस्मा , हातमा लौरो , शिरमा कालो टोपी , शेरवानी कालो कोट लगाएका विपि कोईराला सवारी गाडि लैनचौरबाट उत्तर तर्फ लाग्दै भारतीय दुतावास र अङ्ग्रेजी दुतावासको बिचमा रहेको एक तर्फी मात्र सवारी चल्न सक्ने त्यो सानो सडकबाट गाडी अझ अगाडि बढ्यो ।
बिहानको समय थियो कपुरधारामा पुगी गाडि रोकीयो विपि कोईराला गाडीबाट ओर्लिदै भाई गिरिजाप्रसादलाई गाडी फर्काएर लैजाउ भनी अह्राए । गाडी घुम्न थाल्यो । विपि कोईराला लौरो टेक्दै पैदल अगाडि बढे । करीब सय मिटर अगाडि पुगी सडक छेउमा रहेको कालो ढोका खोली भित्र छिरे । उता भित्रबाट घर धनीले उनलाई देखे । हस्याङ् फस्याङ् गर्दै बाहिर निक्ले । खुसी हुँदै आगन्तुकलाई स्वागत नमस्कार गर्दै छेउमै पुगे । यसो हात समाउदै भित्र बैठकमा बसाए । भित्रबाट घरधनी पत्नी पनि आफ्नो सम्पूर्ण खुसियाली प्रदर्शन गर्दै भित्रबाट बैठक कोठामा छिरीन् ।
विपि कोईरालाले बडो आनन्दित भएर भन्नुभयो “तरुलता ! तिम्रो पाल्पाको घरमा धेरै बर्ष अगाडि खाएको त्यो भात र त्यो दालको मलाई अहिले पनि सम्झना भैरहेको छ । जीब्रोमा स्वाद बसिरहेको छ ।” बैठक कोठामा मीठो खुसियाली छायो । भित्रबाट चिया आयो तरुलता अब चुला तर्फ लागिन् क्यार । विपि कोईरालाले चीयाको चुस्कि लिई कप टेबुलमा रहेको प्लेटमा राख्दै भने “डाक्टर मुलुकमा जनमत सङ्ग्रहले राम्म्रै वातावरण बनाएको छ । निर्दलवादीहरु एक ढिक्का भएर हिडेका छन् । जतिसुकै निष्पक्षका कुरा गरे पनि राजा विरेन्द्रको आशिर्वाद उनिहरुलाई नै छ ।अब हामी धैरै त छौ ,बलीया पनि छौं र साथीहरुको सुझाव अनुसार वहुदलीयवादीहरुको एकता कत्तिको सम्भव छ ? हामीहरु पनि एक भएर हिड्न सक्ने कत्तिको सम्भव छ ? आज म यसै बिषयमा तिमी सँग ठोस सल्लाह गर्न आएको हुँ । डाक्टर ! एक तर्फ को नेता तिमी हौ म एक पक्षको म छदैछु । आखिरमा मुलुकको राजनीति बुझिएकै छ को कहाँ के कसरी काम गरिरहेका छन् छर्लङ्गै छ आखिर तिम्रो र मेरो एकता न हो डाक्टर ?”
नेपाल कम्युनिस्ट पार्टीका महासचिव डाक्टर केशरजङ्ग रायमाझीले नेपाली कांग्रेसका अध्यक्ष विपि कोईरालाले आफूलाई राखेको प्रश्नको जवाफ दिदै भने “विपि बाबू (विपि कोईरालालाई बढो आदर साथ सम्मान गर्नुहुन्थ्यो) तपाई हामी राजनीतिक कुरा त नेपाली कै गर्छौ नेपाल मै गर्छौ हामी नेपाल कै पार्टीका नेता हौँ । जब ठूलाठूला निर्णयहरु लिनु पर्छ त्यसबेला हामीहरुले आफ्नोे आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध लाई बिर्सनु हुदैन मिल्दैन पनि । तपाईं अन्तर्राष्ट्रिय रुपमा अन्तर्राष्ट्रिय सोसलिष्ट अर्गनाइजेसनको ठूलो नेता हुनुहुन्छ । तपाईंको विचार र कार्यक्रम त्यसैको आधारमा निर्धारण हुनेगर्छ । स्वभाविक पनि हो । हामी कम्युनिष्टहरुको पनि फेरि अर्कै अन्तर्राष्ट्रिय सम्बन्ध छ हामीले पनि ती कुरालाई पनि मान्नै पर्छ । यसरी अलग अलग अन्तर्राष्ट्रिय केन्द्र भएका हामीहरु बिच कसरी बहुदलीय एकता कायम हुनसक्छ र ? तपाईहरु बहुदलकै निम्ति भोट माग्नु हुन्छ हामी पनि त्यसै गर्छौं ।त्यसैले कार्यक्रममा सँगै हिँडे पनि बहुदलीय एकता सम्भव छैन ।”
विपि कोईरालाले आफ्नो लामो हात अगाडि बढाउदै डाक्टर रायमाझीको हातको ठूलो पञ्जामा मिसाउदै भन्नुभयो “हो डाक्टर तिमिले ठिक भन्यौं हामीहरु कार्यक्रममा संगै हिड्छौं , भोट माग्छौं तर बहुदलीय एकता बनाएर हिड्न सक्दैनौं । कार्यकर्ताहरु जत्तिसुकै कराए पनि हामी नेताहरु आफ्नो सिद्धान्तमा अडिग रहिरहनु पर्छ । हामी कांग्रेस तिमीहरू कम्युनिस्ट !”
उनीहरु दुवै जना कोठामा रमाईलो वातावरण बनाउने गरी खुसियाली व्यक्त गर्दै केही छिन् हाँसिरहे ।
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic