सुन्सान रातमा झ्यालबाट पर्दा उठाएर यसो चिहाएर हेर्छु । अगाढी उभिएका अग्ला अग्ला घर अनि ति घरका अँध्यारो कोठाले मलाइ प्रायः तर्साउछ । सुनसान छ, चकमन्न लाग्छ यी सबै भुतघर हुन । अग्ला घरहरु अध्याँरोमा भूतमहल झैं ठडिएका छन । उज्याँलो कहि कतै देखिदैन । लाग्छ जीवनको कुनै उपस्थीति नै छैन । अरुबेला राति पनि चहल पहल झिलिमिली हुने यो क्षेत्र अहिले कालो अध्याँरो छ । मानौ यहाँ साझ सधैं यसरी नै चुक झैं पोखिन गरेको थियो । आश्चार्य लाग्छ, ती मानिस कहाँ लुके होलान । कहाँ बसेका होलान भोको पेट छट्पटाउदै ती होटेलहरुमा काम गर्ने मजदुरहरु । कहाँ कता बसेर घोत्लिदै होलान ब्यबसायी जस्ले बैकको ब्याज तिर्न नसकेर घाटा ब्यहोर्दै छन । ठिङ्ग उभिएको कालो कोठरीमा परेवाले रात भर पखेटा फर्फराएको मात्र सुनिन्छ । दिनभरी कोरोना संक्रमणका आशंकितहरुको RT-PCR परिक्षणका लागि SWAB संकलन गरेर थकित शरिर घिसार्दै हाम्रो अस्थाई निवास बनेको यो सुन्धाराको होटल क्वाराण्टाईनमा आईपुग्दा यस्तै आवाज मेरा साथी बन्छन । त्यसै मन नरमाईलो हुन्छ ।
कोरोना संक्रमणको जोखिम बढ्दो छ । हिजो अंकमालको निम्ती उठ्ने हातहरु आज परैबाट नमस्कार गर्दै तर्किन खोज्छन । मान्छे देखि मान्छे डराउनु पर्ने, मान्छे देखेर तर्कनु पर्ने, तर्सनु पर्ने यो कस्तो दिन आयो । अझ हामी स्वास्थ्यकर्मीहरु, कोरोना संक्रमणको जोखिम रोगथाम र नियन्त्रणका निमित्त समुदायमा काम गरिरहदा आफन्त परिवारको स्वास्थ्यका लागि परिवारबाट नै टाढा बस्नु पर्ने कस्तो यो विपत्ती आयो ।
यसो कोठा तिर फर्केर हेर्छु म सँगै काम गर्ने साथी ओछ्यानमा पल्टेर भित्ता तिर हेरेर टोलाई रहेकी छन । शायद उन्को मनमा पनि यस्तै कुराहरु खेलिरहेका होलान । अहिले मेरो साथीहरु पनि नयाँ बनेका छन । जो कोरोना संक्रमण परिक्षणका लागि संभावित संक्रमितहरुको स्वाब संकलनकोे जिम्मेवारी लिएर आएका म जस्तै । अहिले मेरो परिवार पनि तिनै बनेका छन । होटेलको खानै नसकिने मोटा दाना गरेका चामलको खाना र पहेलो दाल अनि बिहान बेलुकी सधै भरी पकाउने लौका र सिमिको तरकारी हाम्रा लागि दैनिक खाद्य बनेको छ । खान नरुचेर दिक्क मान्दै भोको पेट बसे पनि यो गर्मी मा PPE लगाएर कार्य क्षेत्रमा जाने दैनिकी भने टुटेको छैन ।
फेरि झ्यालबाट बाहिर हेर्छु । यो कालो निष्पट्ट रातलाई मेरो मनको छटपटीसँग केहि सरोकार छैन । यो संत्रासको कारण यो रातलाई त बल्ल मौका मिलेको छ । कालो अध्याँरो खाष्टोले छोपे झैं छोपेको छ यो सुन्धारा क्षेत्रलाई । अरु तिर पनि यस्तै होला शायद ।
यो संक्रमणको जोखिम रोगथाम तथा नियन्त्रणका लागि अग्रपङ्तीमा खटिरहेका सुरक्षाकर्मी हामी जस्ता स्वास्थ्यकर्मी चिकित्सकहरु धमाधम संक्रमित बनिरहेको यो बेला । आफु पनि संक्रमितको संख्या थप्नेमाच पर्ने हुँ कि मनमा एक प्रकारको चिन्ताले सताई रहन्छ । आफ्नै RT-PCR परिक्षणको लागि स्वाब दिएर नतिजा नआउँदा सम्म एक प्रकारको छटपटीले घेरी रहन्छ ।
सुन्छु, कर्म क्षेत्रमा दिनरात नभनी परिवारलाई छोडेर यसरी समुदायको सेवामा लागेका स्वास्थ्यकर्मी, चिकित्सकहरु संक्रमित भएर आफ्नो घरमा अथवा सहज पर्ने स्थानमा आईसोलेसनमा बसिरहदा समुदायबाट नै भएका असहयोगी व्यवहारका कुराहरु । कतै मलाई पनि त्यस्तो भयो भने ? मन छियाँछियाँ भएर आउछ ।
संक्रमण निरन्तर बढदो छ । घरदैलोमा नै आई पुगेको छ । म घरबाट टाढा बसेर नागरिकहरुको सेवामा छु । घर सम्झन्छु । सासु ससुरा के गर्दै हुनुहुनछ होला ? छोरी के गर्दै हालिन ? आफ्नो ठूलो दुखले बनाएको सानो घर । जहाँ भित्र पसी सके पछि दिन भर PPE लगाएर काम गर्दा थकित भएको शरिर PPE फुकाल्ने बित्तिकैे मीठो शितलता प्राप्त भएको महशुस हुन्थ्यो । सम्झिन्छु म घर पुगेको थाह पाउँने बित्तिकै कुदेर झ्याँप्प अगाँलो हालन आईपुग्ने मेरो मुटुको टुक्रा मेरी छोरी, म पुग्दा हत्तपत्त मेरो झोला खोतल्न थाल्थिन । मैले नुहाइ धुवाइ सके पछि तातो र मिठो चिया ल्याएर दिदै भन्थीन ममि यो जागिर छोडिदिनुस अब कति दुःख गर्नु हुन्छ कोरोना लाग्छ क्या । त्यस्तै म आएको देखे पछि उज्यालो अनुहार बनाएर बोलाउने ससुरा बा र के तरकारी ल्यायौ भन्दै खोतलेर केलाइ कुलाइ पार्ने अनि भोक लाग्यो होला खाजा खायौ ? भनेर सोध्ने सासू आमा । हुन त पेरिस मा बस्ने छोरो र नुवाकोट मा कोरोनाकै लडाइ लड्दै मैदानमा होमिएका श्रीमान को माया र सम्झनाले पनि उत्तिकै पिरोल्छ मन चैन कहाँ छ र ?
फेरी सम्झन्छु म मेरो लागि भन्दा पनि नेपाली दाजु भाई दिदी बहिनीहरुका लागि आज परिवार भन्दा टाढा बसेर दिनरात काम गरिरहेको छु । मेरो यो मेहनतले समाज र देशका लागि सानो मात्र भए पनि केहि सहयोग पुग्न सक्यो भने त्यहि नै मेरो लागि ठूलो उपलब्धि हुनेछ ।
सम्झन्छु मेरो मात्र यस्तो अवस्था होईन नी । म जस्तै थुप्रै थुप्रै स्वास्थ्यकर्मीहरु देशैभर यसरी नै काममा लागिरहनु भएको छ । प्रत्यक्ष भेट नभए पनि मेरा साथिहरुले मेरो स्वास्थ्यको बारेमा सोध्ने र आफ्नो स्वास्थ्यको ख्याल गर्नु है भनेर सम्झाउदै हुनुहुन्छ । यस्तो बेला त्यो पनि ठूलै सहारा लाग्दो रहेछ । उहाँहरुलाई हार्दिक आभार ब्यक्त गर्दछु । काठमान्डु महानगरका प्रमुखज्यु त आफै कोरोनाको शिकार बन्नु भएको छ उहाँको मिठासपुर्ण बोली र हामी प्रती देखाउनु भएको माया ममता को सम्मान गर्दछु, उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
हामीले काम गर्नै छ । यस्तो बेला हामीले आफ्नै मात्र सुरक्षाको स्वार्थ बोकेर काम छोडेर बस्ने हो भने आफ्नो कर्तव्य प्रति नै बेईमानी हुनेछ । यस्तै सोंचले थप उर्जा प्राप्त हुन्छ । भोली फेरी उत्साहका साथ काम गर्ने जागर पलाउछ । हामी कार्य क्षेत्रमा लागि रहदा स्वास्थ्य शाखाका प्रमुख, कार्यकारी लगायत सम्पूर्ण कर्मचारीबाट प्राप्त सहानुभुती प्रेमले मनोबल झन बलियो बनाएको महशुस हुदो रहेछ । हामी कार्यक्षेत्रमा छौ सबैलाइ जोगाउन । आफै कोरोना सक्रमित बन्ने संभावना पनि उत्तिकै छ । तर निश्चित छ तर मर्दैनौ । यो मर्ने रोग हैन हामी डराएका छैनौ । तपाँईहरु पनि नडराउनु होस ।
आँखा बिस्तारै बोझिलो हुदैछ । शायद निद्राले च्याँप्दै लग्न थाल्यो । भोली फेरी जानु छ । हामी निरन्तर लागि रहेका छौ । तपाइहरु पनि स्वास्थ्य सम्बन्धि संभव सम्पूर्ण उपायहरु अबलम्बन गर्दै आफुलाई सुरक्षित राख्नुहोस । कोरोना संक्रमणको पिडा भन्दा यसले उत्पन्न गर्ने मानसिक पिडाले धेरै दुखित बनाउछ । तपाईले गर्नु भएको सावधानीले नै तपाईको सुरक्षा गर्छ ।
फेरी एक पटक झ्यालबाट बाहिर चियाएर हेर्छु । कालो रात फाट्ने छ । उज्याँलो दिन पक्का आउँछ । तर त्यो उज्याालो दिनलाई सुखद र दिगो बनाउन तपाई हाम्रो सचेत पहल र सावधानीको अत्यन्त महत्व छ ।
(लेखक नेपाल ट्रेड युनियन काग्रेस राष्ट्रिय समितिको उप महासचिब
हुनुहुन्छ । साथै स्वास्थ्यकर्मी हुनुहुन्छ)
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic