“धरन–धरन हुँदै पछि धरान” सोमबहादुर धुमनसरले म सँग वहाँकै निवास धरान छाता चौकमा भन्नु भयो । आज वि.सं. २०७७ साल कार्तिक ५ गते बुधबारका दिन । अब मलाई पुराना कुराहरु सम्झना हुन थाले ।
मेरा पितामह मु.चन्द्र प्रसाद अधिकारी सवार हुनु भएको त्यो रातो भोटे घोडा साँगुरी भञ्ज्याङबाट दक्षिणतर्फ ओरालो लाग्यो । हामी पछि–पछि थियौं । ढुङ्गा–ढुङ्गी, गंग्य्राङ्ग–गुंगु्रङ्ग, फोस्रा ढुङ्गो कतै–कतै दर्शन ढुङ्गा पनि । यसो ओरालो बाटो । अलि तल थुम्कोमा आई पुगे पछि धेरै तल मेरा आँखा तिरमिराउने गरी टल्कको देखें । चिउरीबास र साङगुरी भञ्ज्याङको बीचमा थप्पक बसेको त्यो थुम्को । वि.सं. २०१० साल मंसिर महिनाको तेश्रो हप्ता हुँदो हो, म त्यस बखत १० वर्षको फुच्चे केटो थिएँ । आमा लक्ष्मिदेवी अधिकारलिे मेरो हात यसो समाउनु भएको थियो । “उता लडिन्छ है” भन्नु हुन्थ्यो । ६६ वर्ष पछि आज मलाई त्यो कुरा सम्झना भैरहेको छ ।
मेरी हजुरआमा (मातामह) नर्वदादेवी अधिकारी सवार हुनु भएको ओलिन काठ बोक्ने ५ जना ती तामाङ दाईहरु ओरालोमा सजिलै ओर्लदै थिए । थुम्कोमा अडिएर हजुरबुवा (पितामह) पनि त्यही आँखा तिरमिराउने फाँट तिर हेरी राहनुभएको थियो । म जस्तै ।
“बाबु अनार” (मेरो हजुरआमाले मलाई सानोमा प्यारो गरी बोलाउने गर्नु भएको नाम अनार हो) “बाबु अनार उ तल हेर त । धरान बजार त्यही हो । आँखा टल्कने गरी टल्केका ती टीनका छानाहरु हुन । हाम्रो पनि त्यही घर छ धरान बजारमा । अरुको जस्तो हाम्रो पनि टीनको घर टल्केको छ ।” ५ जनाले बोकेको त्यो ओलिन काठमा आराम सँग बसी–बसी मलाई त्यस दिन त्यो धरान बजार देखाई दिनु भएको थियो । मखमलीको रातो चोलो लगाएको लामो हात तेर्साएर । अहिले पनि मेरा मन मस्तिस्कमा ती चित्रहरु ताजै छन ।
केसरसिंह धुमनका छोरा वि.सं. १९८९ सालमा धरान विजयपुरमा जन्मेका सोमबहादुर धुमन । वहाँले राणा शासनको समय देखि नै बिद्यार्थी भएर धरानमा नै शिक्षा आर्जन गर्नु भएको थियो, पछि शिक्षक भएर धरान मै शिक्षाको सेवा पनि गर्नु भयो । अहिले पनि वहाँलाई भेट्नेहरुले धुमन सर नै भन्छन । वहाँको बाजे पुनवीर धुमन पहिले नै कहिले हो कोसी पश्चिम अझ पर काठमाडौ तिरै बाट आई विजयपुर डाँडामा बसोबास गरेको भन्ने धुमन सरको भनाई छ ।
त्यस बेला विजयपुर डाँडामा नेवार बाहुन, मगर, राई जातिका मानिसहरुको फाट्टफुट्ट बसोबास थियो । त्यहाँ बस्नेहरुको चार कोसे झाडी भन्दा दक्षिणतर्फ आफ्नै खेतीपाती थिए । बयलगाडामा विभिन्न किसिमका धान, दाल, तोरी, आलु, फर्सी, लसुन, कोबी, भान्टा लगायतका खाद्य पदार्थहरु खेती गर्ने हरुवाहरुले ल्याई दिन्थे । बयलगाडाहरु विजयपुर डाँडामा चढ्न सक्ने त कुरै थिएन । त्यसैले अहिलेको सिंहदेवी मन्दिर भएको ठाउँमा ती सबैका बयलगाडाहरु धरन (विश्राम) गर्न लगाई राखिन्थे । सबैका बयलगाडामा ल्याइएका सामानहरु अहिलेको दुई धारे तिन धारे हँुदै विजयपुर डाँडामा भएका घरहरुमा बोकेर पु¥याउने गर्थे ।
बयलगाडाहरु तलै धरन गरी राखिन्थे । त्यसरी बयलगाडाहरु धरन गर्ने चलन हुँदा हुँदै त्यस ठाउँलाई धरन धरन भन्दा भन्दै पछि धरान भन्न थालियो । ८८ वर्षीय सोम बहादुर धुमन सरले धरानका बारेमा मलाई यसरी प्रष्ट सँग जानकारी गराउनु भयो ।
विजयपुर डाँडाको चर्चा नेपालको इतिहासमा नै छ । सेन वंशी राजाले पुर्वतर्फ राज्य विस्तार गर्ने क्रममा विजयपुर र अझ त्यो भन्दा पुर्व र चारैतर्फ आफ्नो राज्यको विस्तार गरी विजयपुरलाई राजधानी बनाएका कुराहरु र कथाहरु मात्र होइन, इतिहासमा पनि उल्लेख भएका छन ।
अहिलेको धरान उपमहानगरपालिका वडा नं. १५ लाई उहिले बाँझगरा भनिन्थ्यो । त्यहाँ तामाङ, मगर जातिका मानिसहरु बस्ने गर्थे । सेउती पारी पानवारी भन्ने ठाउँमा धान खेती दाल तरकारी त भइ हाल्यो अब सेन वंशी राजाहरुले भुजा ज्युँनार गरी सके पछि यसो मुखमा हाल्ने सुपारी र पानको पनि ठुलो बँगैचा त्यतै थियो । त्यही पानको बँगैचा पछि पानको बारी हुँदाहुँदै आज आएर पानवारी प्रस्ट छँदै छ ।
उता माथि विजयपुर डाँडा मै देवाधी देव महादेव पिण्डेश्र भगवानको मन्दिर छ । सेन बंशी राजाहरुले सो मन्दिर बनाई खोटाङ्ग र धनकुटा जिल्लाका पोखरेल थरका ब्राम्हणहरुलाई झिकाइ मगाइ उनीहरुबाट नै पुजाको व्यवस्था चलाएका थिए । यता डाँडामा माता दन्तकालीको मन्दिर छँदै छ । सो मन्दिरमा विधिवत पुजा चलाउनका निम्ती पश्चिम तनहँु जिल्लाका खनाल थरका ब्राम्हणलाई मगाईएको थियो । सो मन्दिरमा सदासर्वदा पुजा चलोस भन्ने भावना राखेर झापा, मोरङ्ग, सुनसरी जिल्लाका विभिन्न स्थानमा गुठीको व्यवस्था गरिएको थियो । विजयपुरमा नै आज भन्दा ६४ बर्ष अगाडी जन्मिएका विश्वराज खनालको भनाईमा “हाम्रा आठौं पुस्ता अगाडी तुलाराम खनाल र रामचन्द्र खनालले दन्तकाली मन्दिरको पुजा शुरु गर्नु भएको थियो । उहाँ कै सन्तानले श्रद्धापूर्वक आजसम्म पुजा चलाई रहेका छौ ” । यिनै सेन बंशी राजाहरुले विजयपुर बजारमा बालम्बा देवीको मन्दिर बनाएका थिए । बजार शिरानमा साक्षि देवीको मन्दिर र माथी भताभुङ्गे राजाको दरबार भएको स्थानको जङ्गलमा पञ्चकन्या देवीको मन्दिर बनाएका थिए । ति मन्दिरहरुमा पुजा चलाउनका निम्ति आवश्यक गुठीको व्यवस्था गरि नेवार समुदायका व्यक्तिहरुलाई पुजारी नियुक्त गरेका थिए । यसरी यिनै विभिन्न जाती र थरका पुजारीहरुले आफ्ना नातागोता इष्टमित्रहरुलाई भेला गरि बजार बढाउने काम गरेका थिए । बुढासुब्बाको मन्दिरमा भने मगर जाती पुजारीहरुले अहिले पनि पुजा गरिरहेका छन ।
यस्तै अन्य मन्दिरहरुमा पनि अलग–अलग पुजारी नियुक्त गर्ने, गुठीको व्यवस्था गर्ने कार्र्य सेन राजाले बडो श्रृद्धा र भक्ति साथ व्यवस्था गरि आएका थिए । यसरी विजयपुको पहिचान बढे सँगै ब्राह्मणहरु र विभिन्न क्षेत्रबाट आउने नयाँ वासिन्दाहरुले गर्दा यस स्थानको महत्व झन बढेर गयो । हाम्रा पुर्खा खोटाङ्ग जिल्लाको खुटा भन्ने स्थानबाट विजयपुरमा इन्द्रनन्दन कोइराला पछि उनका सन्तान नन्दीकेशर, रामभक्त, लक्ष्मीप्रसाद हुदै म कृष्ण कोइराला र छोरो संजय कोइराला अझ यिनकै छोरा विजयपुर डाँडामा हाँसी खेली रहेकै छन भन्ने कुरा कृष्ण कोईराला दाई भन्नु हुन्छ ।
कान्तिपुरका राजा रणबहादुर शाहकी रानी कान्तावतीलाई शितलामाईको रोग लाग्यो । उनी सिकिस्त थिइन । आफ्नो राज्य भरि फैलिएको शितलामाईको प्रकोपले जनता पिडित नहुन भन्ने भावनाले उपत्यका भरिका पाँच वर्ष मुनिका बालकलाई उपत्यका बाहीर लिएर जानु र उनीहरुको जीवन बचाउनु भनी राजले हुकुम दिए । राजाको सोही घोषणनुसार ललितपुर गोदावरी छेउको थैव भन्ने ठाउँबाट पाँच वर्ष मुनिका बच्चाहरु बोकी उजिरसिंह दोलाखे भन्ने नेवार परिवारका मानिस वि.सं. १८६० मा त्यही बिजयपुरमा आई आफ्नो बसोबास व्यवस्था गरेको हो भनेर उहाँकै सन्तान प्राध्यापक विज्ञानगोविन्द श्रेष्ठको भनाई छ । उनै उजिर सिंहका छोरा प्रतापवीर सिंह र उनका पनि छोरा रणविर सिंह र उनका सन्तानहरु बढदै र विकास हुँदै गए । अब अहिले हेर्दा ती रणवीर सिंहका छोरा जुजुवर सिंह उनका छोरा कृष्णमान श्रेष्ठ र उनका छोराहरु हरि गोविन्द, भज गोविन्द, राम गोविन्द, नारायण गोविन्द, भागवत गोविन्दहरुका सन्तानहरुले धरानका प्राचीन बासिन्दा हामी हौ भनी आफुलाई भन्दै आएका छन ।
यसरी सेन वंशी राजाहरुले विजयपुरको विकास र सुधार गरी पुर्वाञ्चलकै एउटा केन्द्रमा परिणत गरेका थिए । विजयपुर डाँडा त्यसै पुर्वमा प्रख्यात भएको होइन उत्तरतर्फबाट आउनेहरु धारापानी, साँगुरी भञ्जयाङ्ग वा चिउरीवास यतै कतै बास बसेर अहिलेको फुस्रे बजारको पुर्वतर्फबाट सिधै अहिलेको अमरहाट भएको ठाउँ टेक्दै उकालो चढेर विजयपुरगढी पुगी बास बस्ने गर्थे । उता पुर्वतर्फबाट पनि तेह्रथुम, पाँचथर वा ताप्लेजुङ्गतर्फका आगन्तुकहरु पनि चौबिसे, राजारानी हुदै हर्दिया दानावारीबाट झर्दै सेउरी खोलामा आई विजयपुर डाँडा चढी माथी बजारमा आई बास बस्ने गर्थे ।
तराई तिरका को त पानबारी, बाँझगरा हुँदै विजयपुर बजारमा नै भेला हुने ठाउँ थियो । यसरी विजयपुर बजार गुल्जार बनेको थियो । त्यस बेलाको विजयपुर बजार राजा बस्ने राजधानी र दरबार, विभिन्न देवी देवताहरुको मन्दिर भएको पुण्य स्थल, चारैतर्फका मानिसहरुको आवत जावत गर्ने केन्द्र त छँदै थियो । त्यसमा अझ व्यापारीक कारोवारले गर्दा त विजयपुरले महत्व पाएको थियो । बजारको सिरानमा कचहरी सभा भवन थियो । सो कचहरी भवन ईटाको लामो गा¥हो भएको र टायलको छानो भएको ठुलो थियो । चारै तर्फका आगन्तुक अतिथि, व्यापारी, साहु, महाजन, सन्त महन्थ र समाजका सबै भलादमीहरु भेला भएर त्यहा कचहरी गर्ने चलन थियो । लाख मुखिया राईले त्यो कचहरी भवनको संरक्षण र सुधार गरी आएको कुरा सुनेको थिए भन्ने कृष्ण कोईराला दाईको भनाई छ ।
व्यापारीक कारोबारमा खाधान्न स्वदेश मै छँदै थियो, फलफुल तरकारी प्रशस्तै थियो । तेलहन दलहन हामी सँगै छँदै थियो । गाउँले र किसान बस्ती भएकोले गाई, भैसीं, गोरु, बाछा, पाडा, खसी, बोका, भेडा, च्याङग्रा, हाँस, परेवा, कुखुराहरु किसानको परिचय नै भै हाल्यो । यी बाहेक जंगली जनावरमा पनि बँदेल, हरिण, मृग, कालीज, लुइँचे, ढुकुर लगायतका सबै बस्तुहरुको संरक्षण गर्दै घाँस र दाउराको निमित पनि जंगलको विकास र संरक्षण गर्ने जिम्मा हामी किसान गृहस्थीमा नै थियो ।
हाम्रा आफ्नै देशका जडीबुटी हाम्रो आफ्नै औषधी, कोगटी, खाँडी लगायतका कपडाहरु गाउँघरमै बुनिने चलन थियो । फलामका कृषि सामाग्रीहरु गाउँघरका मिजार दाईहरुले बनाई हाल्थे । ढलौटका भाँडा, थाल, बटुका, गिलास लगायत सबै आफ्नै देशमा निर्माण हुने गर्थे । काठका सामानहरु गाउँघरमा नै बनाईन्थे । काचो छालाका जुता स्थानीय मिजार दाईहरुले बनाई हाल्थे । वास्तवमा त्यस बेला एउटा परिवारलाई चाहिने वस्तु हाम्रा आफ्नै देशमा उत्पादन गरी उत्तर र दक्षिण मुलुकमा पनि निर्यात गर्ने चलन थियो । यो बाहेकका अन्य सामानहरु छिमेकी मित्र राष्ट्र« भारत तर्फबाट विभिन्न व्यापारीहरुले ल्याई हाम्रा गाउँघरमा बिक्री गर्ने गर्थे ।
अञ्चलाधीश जियाउल हकका छोरा डा. खालीद हुसैन हकको भनाई अनुसार उत्तर प्र्रदेश, भारतको लायर भन्ने ठाउँमा बस्ने गुल मोहम्मद भनिने मुसलमान व्यापारीले विदेशी सामानहरु त्यसबेला विजयपुरको बजारमा ल्याइ व्यापार व्यवसाय गर्ने गर्थे । उनी ६ महिना सम्म यहाँ बसी व्यापार गर्दा कमाएका रुपैया बोकी नयाँ सामान ल्याउन फेरी भारत तिर जाने गर्थे । विक्री नभएको र नबिग्रिने सामान चाँही विजयपुरकै कुनै साहु महाजनको घरमा राखी व्यवसाय चलाउने गर्थे । उनले आफु सकुञ्जेल यो व्यवसाय गरी रहे उनी अशक्त भए पछि उनकै छोरा हाजी अजिमले आफ्नो बाबुको व्यापार परम्परा कायम गरे । त्यस पछि उनका छोरा हाजी समसुल हकको पालो आयो ।
हाजी समसुल हकले धरानको अहिलेको भानु चौकबाट छाता चौक तर्फ लाग्ने मुखैमा वि.सं. १९६५ साल तिर टीनको छाप्रो बनाई विजयपुरमा गर्ने व्यापार व्यवसाय धरान बजारमा सारेका थिए । आफ्ना हजुरबुवा समसुल हकको बारेमा डा. खालीद हुसैन हक अझ अगाडी भन्नु हुन्छ –मेरा हजुर बुवा हाजी समसुल हकले नै छाप्रो बनाई बसोबास गरी धरानमा व्यापार व्यवसाय शुरु गरेका थिए । त्यस पछि त्यसका वरिपरि साना तिना छाप्राहरु बनाई विभिन्न जाति र व्यवसायका मानिसहरु बसोबास गर्न थाले । विजयपुर डाँडाबाट धरानमा झरी बयलगाडाको डगरै डगर हुँदै तल अहिलेको भौंडीमा आई फेरि बाँझगरा तर्फ मोडिएर तल जंगलमा पुगी पारी पंचायनमा निस्किने बाटो थियो । पंचायनबाट दक्षिणतर्फ लागी पकली हुँदै कोही पूर्व हरैचा मृगौलियातर्फ लाग्थे भन्ने कोही सिधै दक्षिण खनार दुहबी हुँदै विराटनगरतर्फ आवत जावत गर्थे । पहाडका साहु महाजनहरु तीर्थ व्रत गर्न कासी, हरिद्वार, बृन्दावन, गया, प्रयाग, गंगास्नान गर्दै तिर्थाटन गर्ने बाटो पनि यहि थियो । हुने खाने पहाडियाहरुका छोराहरुले बनारस, हरिद्धार, कलकत्ता, पटना वा त्यस बेलाका विभिन्न विश्व विद्यालयमा पढ्न जाने बाटो यही थियो । त्यसैले यो बाटो गुल्जार थियो ।
पश्चिमा मुलुकहरुको प्रभावमा नेपालको शासन व्यवस्था चलाउने वातावरण बन्न थाल्यो । श्री ५ हरुको त त्यस्तो दिन आएन तर श्री ३ जंगबहादुरले बेलायतको यात्रा गरेका थिए । उनले धेरै पश्चिमा मुलुकहरुको भ्रमण त गरे उनको त्यो अध्ययन भ्रमणले प्राप्त गरेको उर्जा आफ्नै देशमा रहेको एकतन्त्रीय जहानिया शासनलाई सुदृढ गर्नमा नै केन्द्रित रह्यो । त्यस पछिका श्री ३ हरुमा चन्द्र शमसेरले ३० वर्ष सम्म शासन गरे । उनले विदेश भ्रमण मात्रै गरेनन् त्यही बसेर शिक्षा प्राप्त पनि गरेका थिए । देशको विकास निर्माण, जनताको अधिकार र आफ्नो कर्तव्यको बारेमा उनलाई प्रशस्तै ज्ञान प्राप्त थियो । उनले प्राप्त गरेको ज्ञान एकतन्त्रीय जहाँनिया शासन टिकाउन उपयोगी सिद्ध हुँदैन थियो । तर किन चाउरिस मरिच आफ्नै पीरोले भन्ने झैं चन्द्र शमसेर विद्वान र बुद्धिजिवी त थिए तर उनले एकतन्त्रीय जहाँनिया शासन टिकाउन बाध्य हुनु पर्ने परिस्थीति थियो । उनी त्यतै –त्यतै अलमलिए । आर्थिकरुपमा समृद्ध नभई विकास र झिलीमिली मुलुकले पाउन सक्ने थिएन । मुलुकको आर्थिक समृद्धिका लागि देश भित्र नै उत्पादन वृद्धि गरि निर्यात गर्नु पर्नेमा मुलुक भित्र नै उत्पादन गर्न सकिने सामानहरु पनि बाहिरबाट आयात गरि व्यापार व्यवसाय बढाउने अनि व्यापारीबाट ति सामानमा लगाईने कर र भन्सारको माध्यमले नगद सम्पति आर्जन गर्ने निति चन्द्रशमसेरले बनाए । सोही नीति अनुसार भारतीय सिमा नजिकमा आफ्नै मुलुक भित्र भएका बजारलाई विस्तार गर्ने र नयाँ–नयाँ बजार स्थापित गर्ने चन्द्रशमसेरलाई जाँगर चढयो ।
यसै सिलसिलामा धरान क्षेत्रमा पनि चन्द्रनगरको नाममा बजार निर्माण शुरु भयो । जंगल फडानी गर्दै अहिलेको लक्ष्मी चौक देखि दक्षिण तर्फ हालको भौडी सम्म दुवै तर्फ खाँबा गाडेर काठका घरहरु बनाउन थालिए । त्यस प्रयोजनका निम्ती काटिएका सखुवाका काठहरु मध्ये धेरै जसो काठहरु दक्षिण भारतीय सिमाना पारीका बजारमा बिक्री गर्ने र त्यतैबाट आफुलाई घर निर्माण गर्न टीन र त्यसलाई चाहिने काँटी लगायतका सामग्रीहरु आयात गर्ने प्रबन्ध मिलाइयो । त्यस बोलाको चन्द्रनगरमा विजयपुर डाँडामा भएका साहु, महाजनहरुले त जग्गा ओगटेर घर बनाउन थाले नै । अब धनकुटा, चैनपुर, भोजपुर र ते¥हथुम समेतका साहु, महाजनहरुले पनि चन्द्रनगरको व्यावसायिक महत्व बुझ्न थाले । चन्द्रनगर देखि पश्चिमतर्फ पनि जंगल फडानी शुरु भयो । हाजी समसुल हक धरान मै बसोबास गर्न थालेका भए पनि उनको सम्पर्क भारतीय विभिन्न बजारमा थियो । व्यापारिक क्षेत्रमा भएको हँुदा उनमा व्यापारीक ज्ञान पनि थियोे । उता भारतीय सिमाना पारी पनि रेलका लिकहरु बनाउने काम विस्तार भइरहेको थियो । रेलको लिक बनाउन सखुवा काठका फेन्टाहरु आवश्यक पथ्र्ये । त्यसैले हाजी समसुल हकले ठेकेदारको हैसियतले यहाँका सखुवा काठहरु कटान गर्ने, सरकारको नियमानुसारको रोयल्टी बुझाई भारततर्फ निकासी गर्ने प्रबन्ध पनि मिलाए ।
रङ्गेलीबाट मोरङ्गको सदरमुकाम विराटनगर सार्नु पर्ने भयो । सदरमुकामका लागि बिराटनगरमा सबै नयाँ प्रबन्ध गर्नु पर्ने थियो । सदरमुकामका लागि आवश्यक विभिन्न सरकारी भवन निर्माण गर्ने कामको ठेक्का रामलाल गोल्छा भन्ने व्यापारीले पाए । उनले लहरीमा धरान र चतरा क्षेत्रका नदी खोलाबाट बालुवा र ढुङ्गाहरुको ओसार पसार गर्न थाले । सोहि प्रयोजनका लागि धरान देखि विराटनगरसम्म जाने आउने मोटर बाटो खुल्यो । सिमेन्टको प्रचलन थिएन । दाल दलहन र मेथीमा सुर्की चुना मिसाई (त्यस बेला सिमेन्टको नाम निसानै थिएन) ढुङ्गा–इट्टाको गाह्रो निर्माण गरिन्थ्यो । चुना पनि हामी सँग थिएन । चतरा कोसी पारीको एउटा जंगलमा चुना खानी भेटियो । त्यही चुना डढाएर पकाएर ट्रकमा हाली रामलाल गोल्छाले ल्याउने गर्थे । यसरी धरन धरन हुँदै धरान बजारको विकास हुँदै गयो ।
रैती ल्याई बसोबास गराउने व्यवस्था मिलाउनु पर्ने भयो । अब के गर्ने ? यसका निमित धनकुटा, निवासी शेरबहादुर राईंले मौजा पाए । उनले केहि समय काम गरि राम्रो व्यवस्था मिलाउन नसक्दा धनकुटा कै गौरीमान श्रेष्ठले उनको मौजा खरिद गरि जिम्दारी चलाए । पाँचथर, रानीगाउँ यासोक घर भई धरान भालुढुङ्गा बस्ने कासीनाथ खनालले सर्दू खोला तर्फको केही जमिन पाए । धरान नजिक सेउती खोला पूर्वका पानवारी, ठिंगावारी, ढाडे, तेलनपुर, दानावारी, हर्दिया सहित सैतिस मौजाको जिम्मेवारी धनबहादुर श्रेष्ठले पाए । उनले ति मौजाहरु सञ्चालन गर्न नसक्दा त्यो जिम्मेवारी पछि रिजाल र बास्तोला परिवारले संयुक्त रुपमा खरिद गरि केहि समय काम गरे पश्चात बद्रीनाथ बास्तोला दिनानाथ बास्तोलाले एकलौटी चलाउन थाले । सडकको मुखमा पर्ने केहि जमिनहरु सरकारले नै बजार अड्डा खडा गरि बिटौरी असुल गर्ने र नयाँ रैतीहरुको व्यवस्था गर्ने प्रबन्ध मिलायो । यसप्रकार जिम्दार नियुक्ती गरीयो । यिनीहरुले आफ्नो जिममामा रहेको जमीनमा रैती बसाल्ने र ती रैतीबाट सालीन्दा सरकारी कर असुल गरी ढिकुटीमा जम्मा गर्ने जिम्मेवारी पाए । त्यसैले यिनीहरु नै धरान बजारमा रैती बसाउने र कर उठाइ सरकारी ढिकुटीमा जम्मा गर्ने जिम्मेवार व्यक्ति भए । अब अलि अलि गर्दै धरन धरन हुँदै धरान हुन थाल्यो ।
उता युरोपमा भएको विश्वयुद्ध ७ वर्ष सम्म चलेको थियो । सो प्रथम विश्वयुद्ध रोकियो । हामी आफ्नै मौलिक रहन सहन व्यवसाय, कुटीर उद्योग, खेतीपाती गरी शान्तिपुर्ण जीवन यापन गरी आएका नेपालीहरुलाई पनि युरोपमा चलेको प्रथम विश्वयुद्धले ठुलो प्रभाव पा¥यो । नेपाल सरकारको सम्पुर्ण वार्षिक आम्दानी र खर्च एक सवा करोड रुपैयाले नै धानिएको थियो । त्यसैले हामीलाई आफ्नो राष्ट्रिय जीवन यापन गर्ने स्वभाव र अभ्यास भैरहेकै थियो । तत्कालनि श्री ३ महाराज विरसमशेरले ईष्ट ईण्डिया कम्पनीसँग गरेको सम्झौताका आधारमा अंग्रेजले नेपालबाट फौजी जवान लैजान पाउने व्यवस्था ग¥यो । ७ वर्ष चलेको युद्धमा सहभागी हुन नेपालबाट गएका फौजी जवानहरुलाई वर्षको १ महिनाको दरले ७ वर्षको ७ महिना छुट्टी मिल्यो । स्व. सरदार भीम बहादुर पाण्डेका अनुसार विक्रम सम्वत १९७७ देखि १९७८ भित्रमा २ लाख फौजीहरु छुट्टी लिई एकै चोटी नेपालमा आए । उनीहरु नेपालमा आउदा झण्डै झण्डै १४ करोड रुपैया लिएर आएका थिए । हामी करीब १ करोडको राष्ट्रिय आम्दानीले मुलुक चली रहेको नेपाली समाजबीच छ महिनामा काममा फर्कने गरि आएका ति फौजी जवानहरुले आफूसँग ल्याएको १४ करोड रुपैया हाम्रो घर आँगनमा थुप्रिन आउँदा हाम्रो आर्थिक अवस्था कस्तो भयो होला ? मानसिक स्थितिमा कस्तो असर प¥यो होला ? यसले हाम्रो जीवनचर्यामा कस्तो असर पा¥यो होला ? यसले हाम्रो सामाजिक जीवनमा कति उलट पलट ल्यायो होला ? यो बडो सोचनीय र मननीय कुरा छ ।
मेची देखि महाकाली सम्मका विभिन्न जिल्ला गाउँ बस्तीबाट अलि–अलि गर्दै पटक–पटक बाहिरिएका नेपाली जवानहरुको अनुपस्थितिले त हामीलाई खास असर पारेको थिएन तर छुटीमा घर फर्किदा र एकै चोटी आउँदा उनीहरुले ल्याएको त्यो ठुलो धन राशीले ठुलो प्रभाव पा¥यो । गरीब थिए । गरिबीले पिरोलिएर अर्काको देशमा जीवन माया मारी निन्याउरो अनुहार लाउदै गएका कमजोर नेपालीहरु फर्कदा एकै चोटी लाहुरेका अनुहार लिएर फर्र्किए । बोेलीचाली अर्कै, लुगा कपडा अर्कै, खानपीन र रहन सहन अर्कै अझ सम्पतिको भारी बोकेर भित्रिदा उनीहरुको मन मस्तिस्कमा नौलो बहार आउनु स्वाभाविकै थियो ।
उनीहरुले ल्याएको सम्पतिलाई व्यापार व्यावसाय वा उद्योग व्यावसायमा लगानी गरिएको भए मुलुककै अनुहार फेरिन्थ्यो । सदा सर्वदाका लागि राष्ट्रको समृद्धिको आधार निर्माण पनि हुन सक्थ्यो । सरकारका तर्फबाट त्यस्तो निति र कार्यक्रम आउन सकेन । व्यक्ति र जनताले राष्ट्रिय नीति र कार्यक्रम बनाउने कुरै भएन । त्यो पैसा खानपीन, मोजमस्ती, लताकपडा जस्ता कुरामै बढी खर्च हुन गयो । पैसा सकिदै गयो, मानिसको व्यवहार आचरण स्वभावमा परिवर्तन पनि आउन थाल्यो । तर मुलुकले गरीबीको थाङनो जिउबाट फाल्न सकेन । त्यस मध्ये केही रकम ती लाहुरेहरुले खेतीपाती जग्गा जमीन किन्नमा खर्च गरे । गाई भैंसी किन्नमा लगाए । लताकपडा र जुता लाउने बानी बसाले ।
यसरी उनीहरुले पहाडका जग्गा जमीनहरु किन्न खोज्दा गाउँका साहु महाजनहरुले आफ्नो जग्गा खेतवारीको मूल्य अत्यधिक बढाई मोल गर्न थाले । खरिद गर्नेले जग्गाधनीले माँगेको दाममा किन्न थाले । गाउँमा खुसी र आनन्दसँग बसी आएका साहु महाजनहरु आफुलाई सरेक नपर्ने, पायक नपर्ने अलि पर–पर भएको जग्गा जमीनहरु लाहुरेलाई विक्री गरी जम्मा भएको पैसा बोकी तराई झर्न थाले । यसै सिलसिलामा पुर्वी पहाड धनकुटा, ते¥हथुम, सखुवासभा, भोजपुर तिरका साहु महाजनहरु नयाँ–नयाँ विकास हुन थालेको धरान बजार तर्फ आकर्षित भए । पहाडमा जति सुकै मोजमस्ती भएपनि र मधेशमा भएको जति सुकै औलौ ज्वरो र गर्मीको डर भए पनि आफ्ना लाला बालालाई शिक्षा दिने उद्देश्यले धरान झरे । धरानमा उपलब्ध स्वास्थ्य, यातायात तथा अन्य साधन सुविधाबाट प्रभावित भए । उनिहरु धरान बजारमा घडेरी व्यवस्थापन गर्न थाले, किन्न थाले, घर बनाउन थाले । अझ धेरै सम्पति भएकाहरुले त सुर्की चुन्नाकै पक्की घर पनि बनाउन थाले । धरानमा बसोवास गरि खान बस्न दैनिक जीवन यापन गर्नका लागि चारकोशे झाडी दक्षिणतर्फ झापा मोरङ्गका विभिन्न क्षेत्रमा जगगा जमिन ओगटी खेतिपाती गर्न थाले ।
यसरी पहाडबाट तराई झर्ने र धरानमा घर जग्गा र श्री सम्पति जोड्ने काममा बढ्दै गयो । हाल बिराटनगर निवासी ८९ बर्षिय लक्ष्मिप्रसाद रिजालका अनुसार धनकुटा सिबुवाबाट बलभद्र रिजाल अनि उनका दाजुहरुका सन्तान शिवनारायण, धु्रवलाल, कृष्णगोविन्द, रघुनाथ, हरिभक्त रिजालहरु धरान झरेका थिए । यस्तै वि.सं. १९८९ सालमा जन्मनु भएका धरान पानवारी निवासी कृष्ण प्रसाद आचार्यका अनुसार धनकुटाबाट नै बलभद्र, मकरध्वज, गोपीलाल, गंगाधर आचार्यहरु धरान झरेका थिए । धनकुटाबाट नै कप्तान करबीर थापाका सन्तानहरु पहलमान, मदनमान, खडग बहादुर लगायत अन्य थापाकाजी पनि धरान झरेको पाइन्छ । धनकुटा बजार निवासी कैलाशमान, गौरीमान र शिवमान श्रेष्ठहरु धरान झरेको देखिन्छ । धनकुटा ताङ्गखुवाका हस्तविर कार्कीले वि.सं. १९६० तिर नै खहरे खोला पश्चिम तर्फ हाल जनपथ क्षेत्रमा प्रशस्तै जग्गा जमिन जोडेका थिए । भोजपुर बजारका देवबहादुर हलुवाई राजभण्डारीले शुरुमा नै धरान नयाँ बजारमा बसोवास गरे र उनले वि.सं. १९९२ सालमा दन्तकाली राईस मिलको नाममा धान, मकै पिस्ने तोरी पेल्ने मिल स्थापना गरे । उनकै लहरमा उनका भाइभतिजा नातागोता पनि भोजपुरबाट धरान सरेको देखिन्छ । यस्तै भोजपुरको दिङ्गलातर्फबाट नरबम बस्नेत, जम्दार बलभद्र बस्नेत परिवार सहित र ले. नरेन्द्र बहादुर बस्नेत र यिनिहरुका भाइभतिजा नातागोताहरु समेतले धरानमा घर बसोवासको व्यवस्था गरे । ताप्लेजुङ तर्फबाट त्यहाँ कारोबार गर्दै आएका मारवाडी समुदायका व्यापारीहरुले पनि सुगम क्षेत्र धरानमा आई आफ्नो व्यापार व्यवसाय गर्न थाले । जिम्दारहरुले आफुले सरकारबाट पाएको जग्गाको वार्षिक मालपोत अनिवार्य रुपमा सरकारी ढुकुटीमा बुझाउनु पर्ने हुँन्थ्यो । उनिहरुले घडेरीहरु वितरण गर्दा त्यस्तो रकम बुझाउने अवस्था भएकाहरुलाई मात्र जग्गा दिन्थे । सरकारी राजस्व बुझाउन नसक्ने अवस्थामा भएकाहरुले चाँहीे जिम्दारीबाट नियमानुसार जग्गा पाउन सक्दैन्थे । उनीहरु त्यसै यसै बसेका हुन्थे । त्यसैले जिम्दारहरुले धरान बजारमा धेरै–धेरै जग्गा ओगटेर सरकारी कर दस्तुर बुझाउने हैसियत भएकाहरुलाई भने प्रशस्तै जग्गा दिएका हुन्थे । जस्तै मणिसुन्दर श्रेष्ठले आफुले र आफ्ना परिवारका नाममा धेरै–धेरै जग्गा र घडेरी धरानमा ओगटेका थिए । उनी सालिन्दा कर दस्तुर बुझाउन सक्षम पनि थिए । सुब्बा रत्न प्रसाद श्रेष्ठले धरानमा जंगल फडानी गर्दा पुरानो बासिन्दाको हैसियतले त्यही व्यापार व्यवसाय शुरु गरेका थिए । त्यहाँ कटानी भएका लकडीहरु भारततर्फ निर्यात गर्न पनि उनी सक्रिय थिए । उनी ठुला पैसावाल भएको हुँदा आफु र आफ्ना परिवार वा नातेदारका नाममा सरकारी नियम पु¥याई धेरै–धेरै जग्गा ओगटेर बसेका थिए । आज पनि सिङगै रत्न रोड भन्ने बाटो छँदंैछ । सिद्धिमान श्रेष्ठ पनि ठूलै साहुकार थिए । उनले आफु र आफ्ना परिवारका जिम्मामा नियम पु¥याई धेरै–धेरै जग्गा र घडेरी ओगटी धरान बजारको विस्तारमा सहयोग पु¥याएका थिए । लाखे परिवार र धुमन परिवारहरु धरानमा बसोबास गर्ने पुरानो परिवार भएकाले उनीहरुको पनि धरान बजार विस्तार गर्नमा उनीहरुको ठूलै भुमिका थियो । पालिखे परिवारले पनि धरानमा घडेरी ओगटेर बजार विस्तारमा सहयोग पु¥याएका थिए । भोजपुर, तेह्रथुम, संखुवासभा र धनकुटाबाट बस्नेत र कार्की परिवारका साहु महाजनहरु धरानमा थपिएर बजारको सुन्दरता वृद्धि गर्दै थिए । चैनपुर, भोजपुर तथा तेह्रथुम बजारमा रहेका व्यापारीहरुले पनि धरानको व्यपार व्यवसाय विस्तार गर्नमा राम्रै भुमिका निर्वाह गरेका थिए । क्रमशः वल्लो किराँतबाट लिम्बु र मगर समुदायका व्यक्तिहरु धरान बजार विस्तारसँगै झरे । त्यस्तै माँझ किराँतबाट राई, गुरुङ र तामाङ जातिका मानिसहरु क्रमशः धरान बजार विस्तारमा सक्रिय भए ।
केही घरहरु बन्दैमा र ति घरहरुमा मान्छे भरिभराउ हुँदैमा मात्रै त्यसले समाजको आकार ग्रहण गर्दैन । समाजका लागि आवश्यक सबै आधारहरु पुरा भएको हुनु पर्दछ । लुगा कपडा सिलाउने, जुत्ता बनाउने र घरगृहस्थी तथा खेति किसानीका निमित्त चाहिने ताई, दिउरे डाडुपन्यू, खुकुरी, हँसिया, बन्चरो, हलो कोदालो, करुवा लगायत विभिन्न सामानहरु बनाउने आवश्यक कालीगढहरु पनि धरानमा बसोवास विकास हुँदा विभिन्न जिल्लाहरुबाट त्यहाँ झरेका थिए । कृषी तथा दैनिक ज्यालादारी मजदुर, डकर्मी सिकर्मीहरु विभिन्न स्थानबाट धरानमा आउन थाले ।
समाजमा चाहिने सबै आवश्यकताहरु यसरी नै व्यवस्थति हुदै गएका त थिए । अझ यसलाई महत्व दिन कवि महानन्द सापकोटाको नेतृत्वमा अहिलेको लक्ष्मि सडकमा शारदा विद्यालयको स्थापना भयो । अब शिक्षाको प्रचार पनि श्रु हुन थाल्यो । अहिलेको छाताचौक उत्तर पट्टी जुद्ध शमशेरको नाममा अस्पताल सञ्चालन भई औषधोपचारको व्यवस्था पनि हुन थाल्यो । धर्म संस्कार सँस्कृतिको प्रचार र संरक्षणका निमित्त अहिलेको भानुचौकमा लाखे परिवारको तर्फबाट लक्ष्मिनारायणको मन्दिर स्थापना गरियो । धरान महेन्द्रपथमा बलभद्र रिजालले वि.सं. १९९० सालमा बलभद्रेश्वर शिव मन्दिरको निर्माण गरे । पृथ्वी पथ अहिलेको धरान १ मा चन्द्रेश्वर शिव मन्दिरको स्थापना भयो । यसरी शिक्षा, स्वास्थ्य, धर्म संस्कार सँस्कृतिको विकासको निम्ती त्यस बेलाका धरानका वासिन्दाहरु जुर्मुराएर उठेका थिए । यस्ता असल कामको क्रम दिन प्रतिदिन अगाडी बढिरहेको थियो ।
२००७ सालको राणा शासन विरोधी आन्दोलनले पूर्वी नेपालको माझ किराँतलाई राष्ट्रिय चर्चा कै महत्वपूर्ण विषय बनायो । नारदमुनी थुलुङ्गको नेतृत्वमा सञ्चालित भोजपुर जिल्लाको आन्दोलनको चर्चा नेपालको ईतिहासमा प्रष्ट सँग उल्लेख छ । भोजपुर जिल्लामा भएको आन्दोलनको प्रभाव हाम्रो परिवारमा पनि प¥यो । आन्दोलनले प्रभावित हाम्रो परिवार धरान झर्न बाध्य हुनु परेको थियो । धरान आउने जाने गर्दा २०१० साल मंसिर महिनामा मेरी हजुरआमा नर्वदादेवी अधिकारीले साँगुरी भञ्जाङ्ग र चिउरी बासको बिचमा पर्ने एउटा थुम्कोबाट देखाई दिनुभएको धरान बजारमा हाम्रो परिवार कसरी सहभागी हुन आई पुग्यो भन्ने कुरा को सम्बन्धमा दुई चार शब्द भन्नु उपयुक्त नै ठान्नेको छु ।
बडा महाराजा पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गर्ने क्रममा एउटा दरिलो संगठन गरेका थिए । त्यो संगठन भित्र पैसा खोजखाज गर्ने र खर्च गर्ने लडाकु योद्धाहरुको संगठन गर्ने र उनीहरुलाई तालिम दिने त्यस बेलाका मौलिक हात हतियारहरु खोजी गर्ने वा निर्माण गर्ने अनि मोर्चा सम्हाल्न सक्ने सैनिक अफिसर मध्येका एक थिए वीरभद्र उपाध्याय । बीरभद्र उपाध्यायले सिन्धुली जिल्लाको पौवा थुमगढी मोर्चामा लडेको भन्ने इतिहासमा पाइन्छ । उनका ३ पत्नी थिए त्यस मध्ये एउटीबाट जन्मेका सन्तानको नाम हो गोविन्द जैसी । उनका छोरा मध्ये एक जनाको नाम हो रामहृदय अधिकारी । यिनका पनि छोराको नाम रामनाथ अधिकारी । रामनाथको छोराको नाम हो विष्णुलाल अधिकारी । उनका ६ भाई छोरा मध्ये जेठाको नाम हो चन्द्र प्रसाद अधिकारी । चन्द्रप्रसादका ९ भाई छोरा मध्ये ठाईलाको नाम हो श्रीप्रसाद अधिकारी । म स्व. श्री प्रसाद अधिकारीको जेठो छोरो देवराज अधिकारी हुँ । मेरो छोरा गिरिराज अधिकारी र नातिहरु आगमन अधिकारी आरोहण अधिकारी यसै नगरमा जन्मे हुर्के र बसेका छन ।
भोजपुर जिल्लामा याकु बिर्ता थियो । हाम्रा पुर्खा उपाध्याय हुनुहुन्थ्यो । पूजाआजा कर्मकाण्ड सबै गर्ने अधिकार उपाध्यायलाई मात्र थियो । गोविन्द जैशी पछि का सन्तानहरु जैशी भनि परिचित हुनुभयो । उपाध्यायलाई जस्तो जैशी बाहुनलाई जीविकोपार्जनका दान–दक्षिण मिल्ने कुरा भएन । जैशी परिवारले आफ्ना लागि नयाँ व्यवस्था गर्नु पर्ने भयो । त्यसैले याकु बिर्ता मध्ये हाँगे सल्ला पट्टिको भाग कट्टी गरि सो भाग किनेर लिईयो । त्यसैले हाम्रो गाउँको नाम कट्टी भयो । २००७ सालमा राणा शासन विरोधी आन्दोलनको लहरको प्रभाव सबै जिल्लामा जस्तै माझ किराँतको कट्टी गाउँमा पनि प¥यो । राणा शासनकालका दौडाहा हाकिम बडाहाकिमहरु जर्नेल कर्नेलहरु भ्रमणमा आउदा जेठा मुखियाको ठूलो घर भन्दै आउने बस्ने र कचहरी गर्ने गर्थे । मेरा बाजे जेठा मुखिया चन्द्रप्रसाद अधिकारी हाँगे सल्लाको कट्टी भन्ने गाउँमा बसोबास गर्नु हुन्थ्यो । राम्रैसँग खान लाउन मिल्ने सम्पन्न गृहस्थी किसान परिवार थियो । गाउँ समाजमा धार्मिक, सामाजिक गतिविधिमा सक्रिय भईरहनु पथ्र्योे । त्यसैले २००७ सालको आन्दोलनको प्रभावमा हाम्रो परिवार पनि प¥यो । युवावस्थाका मेरा बुवा श्रीप्रसाद अधिकारीलाई माँझ किराँतका गर्भनर नारदमनि थुलुङको आदेशबाट गाउँघरमै आई सेनाले गिरफतारर गरी भोजपुर सदरमुकाम पु¥यायो । धेरै जनालाई यसरी नै धेरै ठाउँबाट गिरफ्तार गरी लगिएको रहेछ । गर्भनरले कारवाही गर्न खुल्ला मैदानमा कचहरी आयोजना भयो । जिल्ला र क्षेत्रभरिका भद्रभलाद्मी र रमितेहरु त्यसबेला त्यहाँ भेला भएका थिए । गर्भनर नारदमणि थुलुङले मेरो बुवालाई पनि अरुहरुलाई जस्तै एउटा ईटामा एउटा गोडाले टेकाएर उभ्याएका थिए । गर्भनर हातमा कोरा लिएर आनेफाने गर्दै चारै तर्फ घुमिरहेका थिए । दण्ड सजाय दिने हुँकार गरिरहेका थिए । डर र त्रासको ठुलो भयावह वातावरण थियो । आखिरमा जे जस्तो होस कार्वाही टुङ्गियो । कचहरी उठ्यो । मेरो बुवा सदरमुकाम भोजपुर वजारबाट घर तर्फ हिँडि रात साँझ गर्दै आई पुग्नु भयो । घर परिवारमा खुशियाली र चिन्ताको दन्तबजान भयो । छलफल भयो । परिवारमा के गर्ने ? कसो गर्ने ? अब सरसल्लाह भयो । परिवारमा आखिरी हजुरबुवा चन्द्रप्रसाद अधिकारीले मेरो बुवा श्रीप्रसाद अधिकारीलाई विहानै धरान जाने आदेश दिनु भयो । आफ्नो पिताको आदेश बोकेर मेरो बुवा धरान आइ पुग्नु भयो । धरानकै जुद्धनगर बजारमा धनकुटा सिबुवा निवासी कासीनाथ ढुङ्गेलको घर थियो । खाम्बा, बाकल, तख्ती र टीनको छानो भएको सो घर जेनतेन परिवार बस्न मिल्ने पछाडी गाईगोठ समेत भएको करीब दुई कठ्ठा जग्गामा बनेको घर २००८ सालमा रु. ५ हजार १ सयमा खरीद गर्ने काम सम्पन्न भयो । यसरी हामी अधिकारी परिवार र नाता गोता पनि धरान बिस्तारमा सहभागी भयौं ।
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic