प्रा डा धनरत्न शाक्य
सबै मानिसहरू आफ्ना अधिकारका कुरा उठाइरहेका छन्स सायद उनीहरूको अधिकारको प्रत्याभूति र भरोसा नभएर होला । अधिकारका लागि आवाजहरु जुन उठेका छन्स सबै आफ्ना आवाज उचित, आवश्यक र उपयुक्त भन्छन् । अरूको आवाज कसरी लिन्छन्, त्यो भन्न गाहारो छ । तर सबैलाई आफ्नो अधिकार भने प्यारो लाग्छ । यस्ता आवाजहरुको कोलाहल र कोकोहोलोमा दबिने भनेको तल्लो, कमजोर, अशक्त र पिछडिएका मानिसहरूको हुनेगर्छ । अहिले नेपालमा बिरामी र चिकित्सक, स्वास्थ्यकर्मीहरु दुवै पीडित छन् । शिक्षक र विद्यार्थी, जनता र सच्चा नेता सबै सबै पिडित र लाचार देखिन्छन् । आफ्नो अधिकार, सुविधाबाट बन्चित छन् । यस बीचमा साँच्चै आवाज विहिनहरूको हित, कल्याण, भलो र उनीहरुको कुरा आदर्शमा, कागजमा, संविधानमा र भाषणमा होलास व्यवहार र यथार्थतामा देखिँदैन । समग्र बिरामीको, आम जनताको नै स्वास्थ्यको प्रत्याभूति हुन नसकिरहेको तर एकदम उत्तम भनी दाबी गरिएको संविधान भएको भनिएको हाम्रो देश नेपालमा मानसिक स्वास्थ्यको स्थिती कस्तो होला रु थोरैको सरोकारको विषय हुनसक्छ । यस वर्ष सन् २०२३ को मानसिक स्वास्थ्य दिवसको नारा ुमानसिक स्वास्थ्य विश्वव्यापी मानव अधिकारु (Mental health is a universal human rights) भन्ने नाराले यस तर्फ टड्कारो सन्देश दिन खोजेको छ।
स्वास्थ्य कोरा आदर्श, कोरा सिद्धान्त र कुरा मात्र होइनस जीवनको आवश्यकता, पद्धति, अधिकार र उत्तरदायित्व सबै सबै हो । सबैले जिउने आधार हो । यसका शारीरिक, मानसिक र सामाजिक तीनै आयाम अन्योन्याश्रित र पुरक हुन् । यद्यपी मनोसामाजिक आयाम अक्सर बिर्सिइन्छ र छायाँमा पर्छ । यस्तो अवस्थामा यसतर्फ ध्यानाकर्षण गराउन यसबारे चिन्तन मनन र मन्थन गर्न यस नाराले झकझकाएको छ ।
मानसिक स्वास्थ्य भन्नाले ब्यक्तिमा जन्मँदै अन्तरनिहित सम्भावित क्षमता, सामर्थ्यहरु उजागर हुन दिएर दैनिक रुपमा उत्पादनशील हुन सक्ने, जीवनमा आइपर्ने तनावहरु व्यहोर्न सक्ने, अरुसँग सहयोग आदान प्रदान गरी आनन्दपूर्वक जिएर उद्देश्यमूलक जीविका हासिल गर्नु हो जसमा व्यक्ति सन्तुलित र नियमित रूप मा अघि बढ्छ र उसमा कुनै मानसिक लक्षण हुँदैन । मानसिक स्वास्थ्यको अधिकार भन्नाले मानसिक रूपमा स्वस्थ रहन आवश्यक हुने अधिकार र पूर्वाधार प्रतिको स्वामित्व, प्रत्याभूति वा प्राप्ति हो । यसमा सन्तुलित आहार, शुद्ध पानी, स्वच्छ हावा, स्वस्थ वातावरण देखि सुरक्षित घर, परिवार, समाज, शिक्षा संस्कारको अवसर, सामाजिक परम्परा र संस्कृतिप्रतिको स्वामित्व सहित एक ब्यक्तिका समग्र मानवाधिकारहरु जस्ता बहुआयामिक पक्षहरु पनि पर्दछन् ।
मानसिक स्वास्थ्यको अधिकार तब झनै संवेदनशील हुनपुग्छ जब यो गुम्दछ र ब्यक्ति मानसिक हिसाबले अस्वस्थ हुनपुग्छ । मानसिक रोगकै कारण मिथ्या, अज्ञानता, डर, न्यून प्राथमिकता आदिको पृष्ठभूमिमा ब्यक्तिले गाँस, बास, कपास, शिक्षा जस्ता नैसर्गिक अधिकारबाट समेत च्यूत हुन परिरहेको हुन्छ । अरुको हेय, बिभेद, मिथ्या र अपहेलनाको शिकार भई जन्मसिद्ध मानवीय मान, मर्यादा, इज्जत र मूल्य गुमाउन परिरहेको हुन्छ । यस्तोमा नेपाल जस्तो अविकसित, अल्पविकसित मुलुकमा आधारभूत स्वास्थ्य सेवा समेत नहुँदा मायै गर्ने परिवार हुँदाहुँदै पनि अन्ततोगत्वा कतिपय मानसिक रोगी घरवार बिहिन, विकलांग र बेसहारा जीवन बिताउन बाध्य हुन्छन् । उनीहरुको मानव अधिकारको हनन् हुनु आम यथार्थ हो । मानसिक रूपले अस्वस्थ व्यक्तिले मानसिक स्वास्थ्यको अधिकारबारे हेक्का समेत राख्न, यसको संरक्षण गर्न र आवश्यक आवाज उठाउन अक्सर असक्षम हुनपुग्छ । त्यसकारण अधिकारका लागि बाढी नै आइरहेको यो बेला मानसिक स्वास्थ्यको अधिकार सर्वाधिक आवश्यक पर्ने मानिसहरूको आवाज भने लगभग शून्य नै देखिन्छ ।
मानसिक रुपले स्वस्थ रहन र रोग लागि हालेमा आवश्यक जानकारी, समस्या भएको अवस्थामा दिइने गरिने उपचारबारे सूसुचित मञ्जुरी (informed consent), भम स्वःस्फूर्त स्विकृति (voluntary approval) मानसिक समस्याका कारण कुनै पनि ब्यक्तिको नैसर्गिक अधिकार हनन् नहुने प्रत्याभूति, अन्य कुनै पृष्ठभूमि, जस्तै राजनैतिक कारणमा मानसिक अस्पतालमा भर्ती गर्न नपाइने, मानसिकरोग लागेको अवस्थामा विना भेदभाव (stigma, discrimination), मर्यादा(dignity) पूर्ण ढंगले आवश्यक जानकारी, जाँचपडताल, निदान, उपचार, पुनस्र्थापना आदि सिद्धान्ततः निर्दिष्त मानव अधिकार मानिन्छन् । तर ठाउँ, देश, परिस्थिति प्रसंग मुताबिक यसको अवस्था निकै नै फरक छन् । समग्रमा, मानसिक रोग लागेपछि यसको आवश्यक उपचार सेवा, सुविधा र पुनर्स्थापना अनि उनीहरूको आधारभूत आवश्यकता र अधिकारको हनन् हुने सम्भावना अत्याधिक हुने भएकोले यसको संरक्षणको चेतना अति महत्वपूर्ण र संवेदनशील विषयवस्तु हो । यसका लागि सबै जागरूक र चेतनशील रहेमा आवश्यक पर्दा उपयुक्त पहुँच र कदम अपनाएर मानव अधिकार उपभोग गर्न र हनन् हुन नदिन बल पुग्छ । आवश्यक उपचार व्यवस्थापन, औषधी, सेवा सुविधा र पूर्वाधार नभएको हाम्रो जस्तो देशमा यो संविधानतस् अधिकार भनेर उल्लेख भएपनि आवश्यक उपचार सेवा, सुविधा, औषधि, मनोसामाजिक उपचार सेवा, पुनर्स्थापनाका सेवा सबैको पहुँच (accessible) मा पुगेको देखिँदैन, हाम्रो संस्कृति समाजलाई सुहाउँदो, स्वीकृत (acceptable र यसले व्यहोर्न सक्ने(affordable) खालले उपलब्ध हुन सकेको देखिँदैन । जानी नजानी यस्ता रोगीहरुको हानी, मानहानी, अपमान, भइरहेको हुन्छ। एक ब्यक्तिको रुपमा रहने गोप्यता (mental health policy) भंग भइरहेको हुन्छ । धेरै नितिनियम, कानून, नियमावली, घोषणा, अवधारणा, अधिवेसन आदि इत्यादि भएपनि यसको ब्यावहारिक रुपान्तरण भने सबैका लागि खट्केकै देखिन्छ । के विकसित, के अल्प वा अविकसितस धनी, गरीब सबै समाज, राज्यका लागि विविध हिसाबले चूनौतीकै रुपमा छ । नेपालको मानसिक स्वास्थ्य नीति (mental health policy) मा पनि यो एउटा महत्वपूर्ण र प्रमुख बुँदाको रुपमा उल्लेख भएको देखिन्छ । यसलाई व्यावहारिक रुपमा रुपान्तरण गर्न आवश्यक भएको छ ।
यसो भनिरहँदा, एक महत्त्वपूर्ण पाटो के पनि हो, जुन मानसिक स्वास्थ्यको परिभाषामा नै उल्लेख छ, अन्तर्निहित छ कि मानसिक स्वास्थ्य जति अधिकार हो, त्यति कै दायित्व, कर्तव्य पनि हो । मानसिक स्वास्थ्य हासिल गर्न, रोग लागेको खण्डमा उपचार र पुनःस्थापना गर्न तथा आवश्यक सेवा सुविधा उपलब्ध, प्रवर्ध्दन गर्नका लागि आवाज उठाउने, पैरबी गर्ने र यसको बारेमा सही जानकारी राखेर अरुलाई शेयर गर्ने, यसबारे रहेका मिथ्या, अज्ञानता, विभेद हटाउने जिम्मा (responsibility) व्यक्ति, परिवार, समाज, राज्य र विश्व सबैको हो भन्ने सन्देश पनि यसको अर्को महत्वपूर्ण तर अदृश्य सन्देश हो । त्यसैले, नैसर्गिक मानव अधिकारको रुपमा मानसिक स्वास्थ्यको यो नारा, यो सन्देश सार्वजनिन, विश्वव्यापी त हुँदै हो । हाम्रो नेपालको परिप्रेक्ष्यमा अझ टड्कारो देखिएको छ । हामी अझ सजग र सचेत हुन सकौं ।
प्राध्यापक तथा प्रमुख, मनोरोग विभाग, वि.पि.को.स्वा.वि.प्र., धरान, नेपाल
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic